द फस्ट प्रपोज, रिक्वेष्ट नम्बर ५०१
आजकल फेसबुकमा धेरै रिक्वेष्टको ओइरो लाग्न थालेको छ । फेसबुकको सेटिङमा ‘हु क्यान सेन्ड यू फ्रेन्ड’ रिक्वेष्टमा ‘फ्रेन्डस अफ फ्रेन्डस’ त गरेकी छु तैपनि आफ्ना सक्कली नाम बिगारेर पढ्नै नजान्ने नामबाट पनि ‘फ्रेन्ड रिक्वेष्ट’ आउने क्रम जारी छ ।
‘फ्रेन्ड रिक्वेष्ट’ पठाउनेमा केटीभन्दा केटाहरुको संख्या धेरै नै छ । आजकलको फोटो इडिटरले गर्दा फेसबुकमा रहेका तस्बिर आर्कषक नै देखिने गर्छन । हुन त रिक्वेष्ट पठाउन न कर लाग्छ न त भारी बोकेर नै हिँडनुपर्छ । सितैमा पठाउन पाइने रिक्वेष्ट पठाउन के लोभ गर्नु भन्ने पनि लाग्दो हो धेरै जनालाई । ‘एसेप्ट’ गरे साथी बनौला चिनजान गरौँला नगरे केही भएन । कहिलेकाहिँ आफ्नै साथी भाईको ‘रिक्वेष्ट ऐसेप्ट’ नगरेर ठूली भइस् भन्ने आलोचना खेप्न बाध्य हुन्छु । ‘रिक्वेष्ट’ आएपछि एकपल्ट ‘प्रोफाइल’ हेर्छु र चिनेको जस्तो लागे ‘फ्रेन्ड लिस्ट’ बढाउँछु । ‘रिक्वेष्ट’को ओइरो लागेकाले केहि दिन यता सबैको ‘प्रोफाइल’ हेर्ने कार्य स्थगित थियो । कलेजमा परिक्षा चलेकोले फेसबुकमा धेरै समय बिताउन पाएकी थिइन् ।
सानो छँदा दशैंमा नयाँ कपडा लगाउन पाउँदा खुशी भएझैं सुरुसुरुमा फेसबुक चलाउँदा पनि रमाइलो लाग्थ्यो । त्यतिबेला नचिनेको मान्छेको पनि ‘रिक्वेष्ट एसेप्ट’ गर्थे र गफ लगाउँथे । तर, आजकल भने त्यस्तो मोह जाग्दैन । सायद अन्य सामाजिक सञ्जाल जस्तै ट्विटर, भाइबर र स्टाग्रामले पनि फेसबुक चलाउनबाट यो मनलाई ओजेल पारेको होला ।
आफ्नो नामलाई विभिन्न टुक्रमा विभाजन गरिएको नामबाट रिक्वेष्ट आयो । नाम पनि कस्तो अनौठो, पंकी ब्वाई । एउटै नामलाई लामो बनाएर लेखेको, यसो प्रोफाइल हेरे चिनेजस्तो लागेन, ३ जना साथीहरु ‘मियुचल फ्रेन्ड’ थिए । ‘मियुचल फ्रेन्ड’ हुँदैमा सबै चिनेका पनि हुँदैनन् । कोही अन्जान नै हुनसक्छ । ‘फेक’ नाममा फेसबुक चलाउने सबै ‘फेक’ हुन जस्तो लाग्छ । रिक्वेष्ट आएको ३ दिनपछि उसले म्यासेज गर्याे । किन यति धेरै भाउ दिने भएकी ? बजारमा सबै चिजको भाउ बढेकोले, सामान्य उतर दिए । ‘हु एज दिस ?’ प्रश्न गरे ।
उताबाट अनअपेक्षित उतर आयो । ‘दिस इज मान्छे ।’ हाहा कस्तो उतर के जनावरले फेसबुक चलाउँछ । अनि किन सोधेकी त ? जान्न मन लागेर । ३ दिनसम्म जान्न मन लागेन तिमीलाई ? म अल्लि ‘बिजी’ थिएँ त्यसैले । काठमाडौँ आएपछि सबैजना ‘बिजी’ हुन्छन कि के हो ? मैलै हाहा गरेर टारे । उताबाट ‘इमो’को बर्षात भयो बर्खा यामको झरीजस्तै गरी असिना पनि आउँछ कि जस्तो लागेको थियो । धन्न आएन । ‘इमो’ पनि एकैपटक कति पठाएको होला । दिक्क लाग्ने गरी । फेसबुकले सितैमा दिएको इमोको दुरुपयोग गर्छन धेरै फेसबुक प्रयोगकर्ताहरु । त्यो मध्येको एकजना ‘पंकी ब्वाई’पनि रहेछ ।
तिम्रो ढुङगा जस्तो मन परिवर्तन भयो कि उस्तै छ ? को हो मेरो मन जाँच्न खोज्ने । तिम्रो शुभचिन्तक । हाहा मेरो शुभचिन्तक कोही पनि छैन, मेरा बाबा आमाबाहेक मेरो बारेमा सोच्ने कोही पनि हुन सक्दैन । तिमी को हो ? मैले सोधे । छोटो उतर दियो, शब्दको अभाव भए जस्तैगरी, साथी । हुन तः जीवनको धेरै वसन्त पार गरेकी छैन । तर, आजसम्म धेरै साथी भए । स्कुल पढ्दाका साथी, कलेज पढ्दाका साथी, बाटोमा भेटिएका साथी, बसमा यात्रा गर्दा भेटिएका साथी, फेसबुकमा भेटिएका साथी । आखिर कुन चाहिँ साथी हो त उ ? स्कुल पढ्दाका सबै साथीहरु आफ्नै धुनमा छन्, केहीलाई ‘ब्लक’ पनि हानेकी छु । केहीसँग मात्र ‘कन्टयाक’मा छु । ‘प्लस टु’ पढ्दाका साथीहरु धेरै विदेश होमिए । बाटोमा भेटिएका, यात्रामा जुरेका, फेसबुकमा साथी भएका जहाँ भेटिए त्यहीबाट बिलाए ।
फेसबुकमा फोटो एउटा मात्र थियो त्यही पनि मुहार राम्रोसँग नदेखिएको । कसैले चिन्ला जस्तो गरी नचिन्ने फोटो राखेजस्तै । मैले चिन्न सकिन को साथी हो ? हुनत तिमीले मलाई कहिले चिन्यौं र बुझ्ने कोसिस गर्यौ र ? केटो अलि भावुक नै भयो । कक्षा ८ पढ्दाको एउटा फोटो पठायो । स्कुल पढ्दाको साथी रहेछ भन्ने लाग्यो र रिक्वेष्ट एसेप्ट गरें, ५०१ मा पुगेको ‘फे्रन्ड रिक्वेष्ट’ घटेर ५०० मा झर्यो । तर, को होला यसरी फोटो नै सेभ गरेर राखेको । सामूहिक फोटो थियो । सबैको मुहार याद गर्ने थाले । ती दिनहरुको याद आयो । साथी भाइहरुसँग चौरमा खेलेको, खाजा सँगै बाँडेर खाएको र एउटाले होर्मक नगर्दा कपी पास गरी–गरी शिक्षकको आँखा छलेको । जीवनको सबैभन्दा रमाइलो क्षण । कति रमाइला थिए ति दिन, शान्त थियो मन । आमाको र शिक्षकको आँखा छल्न पाए पुगथ्यो । न भविष्यको चिन्ता थियो न त पढाइको नै ।
सानो छँदा दशैंमा नयाँ कपडा लगाउन पाउँदा खुशी भएझैं सुरुसुरुमा फेसबुक चलाउँदा पनि रमाइलो लाग्थ्यो । त्यतिबेला नचिनेको मान्छेको पनि ‘रिक्वेष्ट एसेप्ट’ गर्थे र गफ लगाउँथे । तर, आजकल भने त्यस्तो मोह जाग्दैन । सायद अन्य सामाजिक सञ्जाल जस्तै ट्विटर, भाइबर र स्टाग्रामले पनि फेसबुक चलाउनबाट यो मनलाई ओजेल पारेको होला ।
सरी मैले चिन्न सकिन, नाम भनन् को हो ? फेरी ‘ब्लक’ हान्यौ भने, पंकी ब्वाईले भन्यो । ‘ब्लक’ गरेका नामहरु याद आउन थाल्यो र सम्झिए त्यही साजन हो जो ८ कक्षादेखि मेरो पिच्छा गरिरहेको छ र कक्षा ८ मा पढ्दा उसले पहिलो प्रपोज राखेको थियो । पहिलो ‘आइडी’मा ‘ब्लक’ हानेकोले फेरी अर्को ‘आइडी’ बनाएर ‘रिक्वेष्ट’ पठाएछ । त्यो बेलामा पनि कक्षामा एकदुई जोडीहरु थिए । माया भन्ने शब्द मात्र थाहा थियो तर त्यसको अर्थ थाहा थिएन । सायद माया प्रेमको अर्थ नबुझ्दै कसैलाई प्रेम गरेको भए, म माया जालमा पर्थे होला । तर, जब बुझ्ने भए अरुका कहानीहरु सुने त्यसपछि त झन दुई कोस पर सर्ने थाले । तिमी सुध्र्रियौकी उस्तै छौ ? मलाई सोध्न मन लाग्यो । प्रश्नको उत्तर दिएन । एउटा ‘इमो’ले टार्यो ।
कक्षामा सधैँ लास्ट बेन्चमा बस्थ्यो । सधैँ विषय लागेर कक्षा उकलन्थ्यो । नजान्ने भन्दापनि उसको पढाई बाहेक अन्य कुरामा रुची थियो, खेलमा । गलफे्रन्ड बनाएको छौ कि नाई ? मैले सोधे । बनाए, उसले भन्यो । बधाई छ । धेरै कुरा सोध्न मन थियो तर सोधिन । आज धेरै दिनपछि तिम्रो याद आयो अनि फेसबुकमा खोजेर ‘एड’ गरेको । ‘पिल्ज ब्लक’ नहान ल । हुन्छ भने अब उसकी प्रेमिका भईसकेपछि अलिअलि बोल्दैमा के होला भन्ने लाग्यो । कहिलेकाहिँ हाई हेल्लो हुन्थ्यो, स्कुल पढ्दाका कुरा हुन्थे ।
एकदिन उसको ‘आइडि’बाट म्यासेज आयो, तिमी को हो ? अकस्मात कस्तो प्रश्न । मैले केही लेखिन । साजन मेरो ‘ब्वाईफ्रेन्ड’ हो अबदेखि तिमी उसँग नबोल्नु । हाहा हस् भने र फेरी ‘ब्लक’ हानिदिए । आखिर मैले उसँग माया प्रेमको कुरा गरेकी होइन् न उसलाई आर्कषित नै पार्ने खोजेकी हुँ । उफ ! अच्चम लाग्छ आफ्नो फेसबुक ‘आइडी’ त स्वत्रन्ताका साथ चलाउन पाउनुपर्छ नि । के एउटासँग प्रेम गर्यो भन्दैमा अन्इ साथीहरुसँग बोल्नै नहुने हो र ? यो माया हो की बन्धन । सोधेँ आफ्नै मनसँग उत्तर आएन र लागे आफ्नै काममा र सोध्न मन लाग्यो सबैसँग के एउटासँग माया गर्दैमा अर्को साथीसँग बोल्नै नहुने हो र ? सबै प्रेम जोडीमा लागि मेरो प्रश्न ।