के नारी खेलौना हुन् ?
सहरी सभ्यतामा हुर्केकी एउटी नारी र गाउँले परिवेशमा हिमालसँग लुकामारी खेल्दै जीवन बिताइरहेकी नारीमा धेरै भिन्नता भेट्न सकिन्छ। घासको भारीसँगै गाउँबेसी गर्ने नारीले सिकेको सभ्यतालाई सहरी क्षेत्रका नारीले पैसा तिरेर पनि किन्न सक्दैनन्। सानै उमेरदेखि घरधन्दामा जोडिएका नारीहरू पुरुषको अगाडि शिर ठाडो पारेर बोल्न पनि डराउँछन्। मलाई मेरी आमाले सानो छँदा सिकाएको याद छ, ‘तिमी कहिल्यै पनि ठूलो स्वरमा अरुसँग नबोल्नू, अरुले जे भने पनि सहेर बस्नू।’
हिड्दा खुट्टा दङदङ गरी हिडे पनि गालीको वर्षामा डुब्थे। सानै उमेरमा खाना पकाउन सिक्नुपर्छ भनेर आगो फुक्दा डढेकी छु। धन्न मेरो भाग्य बलियो रैछ, त्यही आगोले पोलेर अपाङ्ग हुनु परेन। अलीअली डाम भने अझै पनि मेरो हातमा छ। सानै उमेरमा काम, धन्दा सिक्दा घाइते भएका चेलीहरू समाजमा प्रशस्त भेटिन्छन्।
म छोरी भएकाले काम सिक्नु पर्यो तर मेरो भाइलाई भने केही काम सिक्नु परेन किनकि उ छोरा मान्छे, बिग्रिए पनि यो समाजले सज्जनको उपनाम दिने मान्छे। बेइज्जत गरे पनि छिटै इज्जत कमाउने मान्छे। सम्पतिको मालिकभन्दा पनि फरक नपर्ला।
यो मैले सानो छदा भोगेको कुरा हो। सायद धेरै परिवारमा आफ्नी छोरीलाई यस्तै संस्कार सिकाइन्छ होला। जब म बढ्दै गए यो समाजसँग परिचित हुँदै गएँ। धेरै कुरा बुझ्दै गएँ र आफूलाई उच्च ठान्ने पुरुषका कुरा पनि सुन्दै गए। भुक्ने कुकुरले टोक्दैन भनेजस्तै धेरै बोल्ने पुरुष पनि मलाई त्यस्तै लाग्छ।
महिलालाई होच्याउने तर आफू भने केही गर्ने नसक्ने पुरुषको पुरुषत्व भुइको धुलोजस्तै हो। जब भुइको धुलो आफै उडन नसकी हावाको बेगले उडाएर मानिसको आँखामा पुर्याउँछ। तब बल्ल मानिसलाई धुलोले असर पुर्याउँछ। जब एउटी नारी पुरुषको कुरामा वादविवाद गर्छिन् तब उनको इमेज पुरुषका अगाडि कुरुप हुन पुग्छ। जब महिला शहनशील भएर पुरुषको कुरामा होमा हो गरी सहमति जनाउँछिन तब ती महिला सुन्दर हुन्छिन् अनि सोझि पनि। यसरी नै सोझोपनको फाइदा उठाउँछन् पुरुषले। आफ्नो इच्छा, आकांक्षा र क्षमतालाई दबाएर कुहाउँछन् नारी।
महिलालाई पाइतालामा दबाएर आफ्नो हैकम दसाउन खोज्ने यो समाजका पुरुषले अझै पनि महिलालाई खेलौना नै सम्झन्छन्। खेल्न पाउन्जेल त्यही महिला एउटा पम भोरिएको फुटबल हुन्छिन भने खेल सकिएपछि ब्यालडर फुटेको बल। मेरो एउटै प्रश्न, ‘के नारी खेलौना हुन, होइन भने किन लुटिन्छ नारीको अस्मिता ? किन होच्याइन्छ नारीलाई ? अनि किन बनाइन्छ बन्धक नारीलाई ?’
महिलाले हैकम जमाउन खोज्दा पाप ठान्ने यो समाजले महिलामाथि गर्ने व्यवहार अझै पनि निच नै छ। हाम्रो हत्केलाका पाँच औला त बराबर हुँदैनन् भने सबै पुरुष पनि एकै हुँदैनन्। बाहिर नारी स्वतन्त्रताको भाषण चुट्दै हिडने पुरुषले पनि आफ्नै घरमा नारीलाई बन्धक बनाएर राखेको भेट्न सकिन्छ। सबै पुरुषमा नारीलाई होच्याउने मानसिकता नभेटिएला तर मैले भेटेका धेरै पुरुषमा आफूलाई नै ठूलो ठान्ने र महिलालाई पाइतालामा राख्न खोज्ने प्रवृत्ति भेटेकी छु।
केही महिनाअघिको कुरो हो, एक युवकसँग मेरो मित्रता गासिएको थियो। स्कुलसँगै पढेको साथी थिएन उ, कलेज पनिसँगै पढेको थिएन। बाटो हिडँदा या बसमा भेटिएको मित्र पनि थिएन। कविता कोर्ने नजाने पनि प्रयास गर्ने मान्छे म, उत्कृष्ट हुन नसके पनि विभिन्न कार्यक्रममा सहभागिता जनाउन इच्छुक मान्छे म। यस्तै कुनै प्रतियोगितामा कविता पठाउने क्रममा मेरो उसँग परिचय भएको थियो। नम्बर मैले मेरी साथीमार्फत प्राप्त गरेकी थिए र मोबाइलमा सेभ गरेकी थिए।
इन्टरनेटको यो जमनामा सबैको हातहातमा भएको मोबाइमा भाइबर जडान गरिएको हुन्छ। त्यस्तै, त्यो नम्बरमा पनि भाइबर भएको सूचना मेरो मोबाइलले प्रवाह गर्यो। त्यसपछि मलाई के खोज्छस् कानो, आँखो भइहाल्यो। भाइबरमा कुरा गर्न सुरु गरेँ। सुरुमा परिचयको शृङ्खलासँगै कुरा अघि बढ्दै गए। मित्रता क्रम जारी रहृयो। कहिलेकाँही फोनमा पनि कुरा हुन्थ्यो। म आफूभन्दा ठूला मानिसलाई सम्मान गर्छु तर सम्मानको नाममा चिल्लो घसेर बोल्नचाँहि जान्दिन। शून्यतामा रमाउन सक्छु तर बनावटी कुराले कसैको मन लुटन चाहन्न। एकदिन उसले सबेरै फोन गर्यो र ‘आज सिरियस कुरा गरुम न’ भन्यो। परीक्षा नजिक आएकाले म त्यसैको तयारीमा थिएँ। थाहा थिएन मलाई कस्ता गफलाई सिरिएस भन्छन्। मलाई आउँदैन मेरो परीक्षा छ भनेर फोन राखिदिए। परीक्षा भएकै कारण मैले उसको कुरामा चासो राखिनँ।
केही समयपछि उसले मलाई भेट्ने प्रस्ताब राख्यो। थाहा थिएन उसले मलाई किन भेट्न खोज्यो तर म यसरी अन्जानमा बनेका साथी भेट्दै हिडने केटी थिइनँ। किन-किन धेरै मानिससाग परिचित हुन, गफगाफ गर्न, कफी पिउन मनले मान्दैन। मैले सीधै किन भेट्ने भनेर प्रश्न तेर्साए। एकछिनको मौनतापछि तिमी गे हो भनेर उसले सोध्यो। यो कस्तो प्रश्न उसलाई भेट्ने नभेट्ने मेरो इच्छा हो। के एउटी नारी पुरुषलाई भेटने इच्छा नगर्दामा गे हुन्छिन् ? उफ झ् यो दुनियाँ अनि आफूलाई शक्तिशाली ठान्ने पुरुषको सोच। यो केबल मेरो जीवनको एक घटनामात्र हो। यस्तै-यस्तै घटनाले धेरै पुरुषको मानसिकता निच नै रहेको म ठान्छु।
- आर्दश समाज दैनिकमा प्रकाशित