चिन्तामा रुमलिने मानिसको मन
‘चिन्ताले मानिसलाई चितामा जलाउँछ’, विद्यालय पढ्दा सप्रसङ्ग व्याख्या गरियो। त्यो समय शिक्षकको सहायताले उतर लेखियो। नबुझी रटियो र परीक्षामा लेख्नकै निम्तिमात्र तयारी गरियो। गहिराइमा सोच्ने दिमाख पनि निभेको मैनजस्तै थियो त्यो समय।
सानो बालक आफूले चाहेको गर्न नपाएकोमा चिन्तित छ। आफूभन्दा ठूलो झोला बोकेर विद्यालय जाऊ, दिनभर शिक्षकको अधीनमा बस, बेलुकी घर आएर गृहकार्य गर, फेरि बिहान उठेर पढ। अचेल बाल उमेरमा यस्तै चिन्ताले पेलिन्छ मान्छे।
जब उमेरसँगै जवानीले पाइला टेक्छ, अरुभन्दा होचो भएकोमा चिन्ता लाग्छ। आफूभन्दा सानो भाइ अग्लो हुन्छ र सबैले त्रि्रो दाइ हो भनेर सोध्दा झनै चिन्ता बढ्छ। सगरमाथाको अग्लो उचाइले पनि दिनहँु जिस्काइरहेको भान हुन्छ। बजारमा जति भौतारिँदा पनि आफ्नो रोजाइ अनुसारको कपडा नभेट्दा चिन्ताले पिरल्छ अग्लाहरूलाई। शारीरिक रुपमा अग्लो भए पनि मानसिक अग्लो बन्न नसकेको ज्वालाले पोल्छ मानिसलाई। सानो माइक्रो बसमा चढ्दा ठोकिने टाउकोले पिरल्छ अग्लाहरूलाई।
परीक्षामा पास भयो, अब कुन विषय पढौँ भन्ने चिन्ता, फेल भयो साथीभाइ, आफन्तले झिस्याउलान् भन्ने चिन्ता। नर्सिङ पढ्यो, नाइट डुयिटीमा खटनुपर्ने चिन्ता , पत्रकारिता पढ्यो धम्की र त्रासमा दिनरात खटिनुपर्ने चिन्ता।
आफ्नो बिजनेस सुरु गर्यो घाटामा जाला कि भन्ने चिन्ता। अरुको कम्पनीमा काम गर्यो भनेको समयमा छुट्टी नपाउने चिन्ता। सबै मानिसमा एउटा न एउटा चिन्ताले बास गरेको हुन्छ। धनीलाई धन कसरी सुरक्षित राखूँ भन्ने चिन्ता र गरिबलाई कसरी दुर्इ छाक टारूँ भन्ने चिन्ता। सन्तान विहिन बाबुआमालाई बाबुआमा बन्न नसकेकोमा चिन्ता, सन्तान भएकालाई आफ्ना सन्तान बिरामी भएर, परीक्षामा फेल भएर, धेरै चकचक गरेर, गलत बाटोमा हिडेर यस्तै-यस्तै कुराको चिन्ता।
जागिरेलाई हाकिमको धम्कीले चिन्ता, जागिर नपाउनेलाई कता आफ्नो बायोडाटा बुझाऊ भन्ने चिन्ता। ब्वाइप|mेड भएकाहरूलाई दैनिक भेट्न नसकेकोमा चिन्ता, गलप|mेन्ड नभएकालाई एउटी केटी पटयाउन नसकेकोमा चिन्ता। प्रत्येक मानिसमा एउटा न एउटा चिन्ता लुकेर रहेको हुन्छ तर सबैलाई आफूमात्र चिन्तित छु भन्ने लाग्छ। चिन्तालाई पकेटमा लुकाएर बनावटी दुनियाँमा हासी रहन्छ मान्छे।
मनभित्र धेरै दुःख भए पनि अरुको अगाडि प्रफुल्ल भएर हास्ने स्वभाव धेरैको हुन्छ। हुन त अरुको अगाडि दुःख देखाएर के नै हुन्छ र – आखिर आफू एक्लैले त्यसको समाधान गर्नुपर्छ। साना कुरामा चित दुख्छ। अरुको भनाइले नरमाइलो लाग्छ। वर्तमानमा भन्दा पनि विगतका स्मृतिले धेरै चिन्तित बनाउँछ।
धेरै पहिलेको कुरो हो, एक युवकसँग अन्जानमा प्रेमको भावना उजागर भएको थियो रमिलाको। उनी आफ्ना पुराना साथीभाइ र आमाबाबालाई छोडेर सुन्दर भविष्यको खोजीमा सहर आएकी थिइन्। कोलाहल सहर, प्रदुषित वातावरण, एक मानिसले अर्को मानिसको वास्ता नगर्ने व्यस्त प्रविधि, बेग्लै माहोलमा भिज्न निकै कठिन थियो। जुन कल्पना बोकेर रमिला सहर पसेकी थिइन्, त्योभन्दा बेग्लै माहौल सडकमा थियो। मुखले सहयोग गरिदिन्छु भन्ने सयौँ भेटिए पनि व्यवहारमा सहयोग गर्ने केबल एक, दुर्इ जना भेटिन्थे।
नयाँ कलेजमा नौला साथीसँग परिचय हुने क्रममा रमिलाको रोसनसँग भेट भएको थियो। सुरुका दिनमा सामान्य परिचय हुँदै एउटै बेन्चमा बस्न सुरुवात भएको थियो। भेटघाटको छोटो अवधिमा नै मनमा धेरै रहर र इच्छाका टुसा पलाउँदै थिए। घर जाँदा-आउँदा दुवै जनासँगै हुन्थे भने कहिलेकाँही कलेज छाडेरसमेत सिनेमा हेरेर मज्जा लिने गथे। दुवैजनाको मनमा मायाको छाँया परेता पनि त्यो माया व्यक्त गर्न सकेका थिएनन्। विरानो सहरमा रमिला आत्मीय साथी भेटेको आभास गर्थी भने रोशनले टाइम पासका लागि साथी बनाएको थियो। उ केही समयपछि नै बाहिर देश जाने तयारीमा थियो। रमिलाले मन, मुटुमा उसलाई सजाएर सपना बुन्न थालेकी थिइ। एकदिन आफ्ना मनका कुरा व्यक्त गर्ने क्रममा रमिलाले नै रोशनलाई प्रपोज गरेकी थिइ र रोशनले सिधै रिजेक्ट गरेर आफनो विदेश जाने योजना सुनाएको थियो। केही समयपछि नै रोशन आफ्नो भिसा आएर विदेश गयो र रमिला एक्ली भइ। छोटो समयमा नै मनमा पलाएको माया विकसित हुन नपाएको चिन्ताले पिरोल्छ रमिलालाई।
जीवनको यात्रामा होमिँदा धेरै चिल्ताले पिरोल्छ। त्यही चिन्ताको कारण धेरै मानिसमा विभिन्न रोगसमेत लाग्छन्। चिन्ता लाग्ने धेरै कारणमध्ये यो केवल सानो उदाहरणमात्र हो। यस्ता हजारौँ घटना छन्, जसले मानिसलाई चिन्तित बनाउँछ।
-आदर्श समाज दैनिकमा प्रकाशीत