नारीमाथी अमानवीय व्यवहार कहिलेसम्म ?
महिलाहरुलाई दासी बनाउने परम्परा हाम्रो समाजमा परापूर्व कालदेखि नै चल्दै आएको हो । विवाह गरेर अरुको घरमा जाने जात भएकाले छोरीलाई शिक्षा दिलाउनु हुदैँन भन्ने चलन पनि परापूर्व कालदेखि नै चल्दै आएको हो । यस्ता कुरा मैले पनि पहिलेदेखि नै सुन्दै आएकी छु । त्यसो त अहिले पनि नेपालका कतिपय भागमा छोरा जन्मिदा खुशी र छोरी जन्मिदा दुखी हुने चलन यथावत नै छ । मेरी आमाको १८ वर्षमा विवाह भयो ।
हजुरआमाको ९ वर्षमा, मेरी हजुरआमाकी आमाको त झन् त्यो भन्दा कम उमेरमा विवाह भएको सुनेको हो । पहिला विवाहपछि महिलालाई गोरुलाई जस्तै जोताइन्थ्यो रे । सुने अनुसार फरक यति थियो । गोरुको अगाडि जुवा र पछाडि हलो हुन्थ्यो । महिलाहरुको अगाडि उसकी सासू र पछाडि घरका अरु सदस्य ।
मेरी आमा कति अभागी, छोरी भएकै कारण उहाँलाई उहाँको बुबाले नपढाएको रे । ‘पढने उमेरमा भेडा चराउन जानु पथ्र्यो,’ आमाले थुप्रै पटक मसँगको भेटमा त्यस्तो गुनासो गर्नुभएको थियो । आमाको नागरिकता बनाउँदा जन्ममिति समेत थाहा नभएर फलानोकी छोरी जन्मेकै बेला जन्मेकी हुँ भन्दै अन्दाजमा मिति हालेर बनाइएको थियो रे । अहिलेका युवापुस्ता ‘केक’ काटेर आफ्नो जन्मदिन मनाईरहँदा कस्तो लाग्ला मेरी आमालाई ? छोरी भएकै कारण जन्ममिति याद नराख्नु भएको थियो रे हजुरबुबा र हजुरआमाले । मेरो ठूलोमामाको त जन्ममिति टिपेर राखेका रहेछन ।
हरेक वर्ष जस्तो छोराछोरी पाउने र छोरी भएपछि हेला गर्ने र छिटै बिहे गरेर अरुको घरमा लखेट्ने चलन थियो रे त्यो जमानामा । मेरो नजरमा मेरी आमा एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता समस्याको पहाड छिचोलेर यहाँसम्म आएका यस समाजका महिलाहरुको पीडा सुन्ने हो भने एउटा नयाँ ‘रामायण’ तयार हुन्छ । महिलाहरुको पीडा–व्यथाले मात्र भरिएको त्यो रामायणको नाम नै ‘महिलाको नाममा लेखिएको रामायण’ बन्नसक्छ ।
अझैपनि ठूलाबडाको अगाडि शीर झुकाउँनुहुन्छ, मेरी आमा । लाखौँ आमाहरुको दर्द पनि त्यस्तै छ । शीर ठाडो पारेर बोल्दा पनि डर लाग्छ मेरी आमालाई, बिचरी कति त्रसित छन् आमाहरु । हो आफ्नो संस्कृति र परम्परालाई जोगाउनुपर्छ । तर शीर निहुराएर होइन, शीर ठाडो पारेर, अरुको अगाडि चार खुट्टा टेकेर होइन दुई खुट्टा उभ्याएर । युग बदलियो, संसार बदलियो तर हाम्रा देशका नारीहरुको सोझोपन अझै बदलिन सकेको छैन । शहरी क्षेत्रका महिलाहरुले छोटो कपडा लगाएर मात्र महिलाहरु आधुनिक भए भनेर भन्न मिल्दैन ।
शहरका एकाध महिलाहरुले कार, टेम्पु चलाउदैँमा महिलाहरु सक्षम छन भनेर देखाउन मिल्दैन । केहि सरकारी कार्यलयमा मात्र महिला कर्मचारीहरु राखेर महिलाहरुलाई पनि रोजगार दिइएको छ भनेर भन्न मिल्दैन । शिक्षित महिलाहरुलाई मात्र सीप दिएर महिलाहरुका लागि पनि सीप विकासको तालिम अगाडि बढाइएको छ भनेर भन्न पाइदैँन । गाउँका सयौँ आमाहरुको आँसु पुछिनुपर्छ । गोरुजस्तै जोताइने प्रवृत्ति र कुसस्कारको अन्त्य हुनुपर्छ । महिनावारी हुदाँ गोठमा राख्ने संस्कारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ ।
दाइजोप्रथाको बिरोधमा आवाज उठाउनुपर्छ । देशका विकट ठाउँहरुमा पसिनाले माटो भिजाउदँै गरेका महिलाहरुको आवाज सुनिनुपर्छ । त्यसपछि मात्र बनाउनुपर्छ, महिला हक र अधिकार सम्बन्धि कानुन । शहरमा आफूलाई ठूला ठान्ने महिलाहरु पनि गाउँ गाउँमा छिर्नुेपर्छ र दिदीबहिनीको दुःखमा सामेल हुनुपर्छ । म मान्छु महिलाहरु सहनशीलताका खानी हुन् । त्यो भन्दैमा महिलाहरुलाई दासी बनाएर राख्नु घोर अपराध हो।
महिलाहरुमाथि गरिने अमानवीय व्यवहार हटाउनुपर्छ । त्यस्तो अत्याचार पुरुषले गरुन या महिलाले । उनीहरुलाई कडा सजाय दिनुपर्छ । पुरुषलाई मात्र दोषी ठान्दिन म महिलाले नै कतिपय ठाउँमा महिलामाथि अत्याचार गरिरहेका छन् । रिस, डाहा र घृणको प्रवृत्ति महिलाहरुमा नै बढि हुने गर्छ । जनचेतनाको लागि गाउँका विभिन्न ठाउँमा गोष्ठी गरिन्छ । महिलाहरुको सहभागिता निकै नै कम हुन्छ । बिहान बेलुका घरको काम र दिनमा मेलापात गर्दै व्यस्त हुन्छन् महिलाहरु । अझैपनि गाउँ गाउँमा छिर्ने हो भने महिलाको अवस्था नाजुक नै छ । कतिपय महिलाहरु त अझैपनि डर र धम्कीमा आफ्ना दिनहरु काटिरहेका छन् । दाइजो नल्याएका कारण जिउँदै जलाएर मारिएका छन् ।
अझैपनि नारीहरु पुरुषको पैतालामा दबिएर बस्न बाध्य छन् । मैले यति धेरै प्रसङ् जोड्नुको कारण केहि दिन अघि जनकपुरमा मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अमानवीय व्यवहार पनि त्यहि समाजबाट सिर्जित मानसिकताको उपज हो भन्ने पुष्टि गर्नका लागि हो । अहिले पनि नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन भनेर भनिन्छ । तर, व्यवहारमा महिला अहिले पनि कति अन्यायमा परेका छन् भन्ने प्रमाण खोज्न धेरै टाढा जानु पर्दैन । नेपालको प्रथम राष्ट्रपति डा. रामबरण यादव पनि श्रीमती गुमाएका व्यक्ति हुन् । मैले उहाँमाथि आरोप लगाउन खोजेको होइन ।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधवा भनेर मन्दिर प्रवेश गर्दा गंगाजल छर्किने पुरुषप्रधान समाजले किन रामवरणयादव राष्ट्रपतिको हैसियतमा मन्दिर प्रवेश गर्दा गंगाजल छर्किएन ? अब सबै एकल महिला (समाजले बोकाएको विधवाको भारी)ले राज्यसँग, अमानवीय हर्कत गर्ने मधेसी मोर्चाका कार्यकर्तागँग र मानवअधिकारवादीसँग यसको हिसाव–किताव माग्नु पर्ने भएको छ ।
अन्त्यमा
जसरी महिला राष्ट्रपति हुँदा प्रत्येक नारीको मन हर्षले गदगद भएको थियो । अहिले त्यसैगरी मोर्चाका केही कार्यकर्ताले गरको उदण्ड व्यवहारले उनको मात्र होइन सारा नारी जगतको हर्षको मुल सुकाउने कार्य भएको छ । जसरी एउटी आमा अपहेलित हुँदा उनका सन्तान साहारा बिहीन हुन्छन त्यसैगरी देशको उच्च पदमा रहेकी एक नारी अपहेलित हुदा सिङ्गो देशका नारी नै अपहेलित र अमानविय व्यवहारको सिकार भएको छ । कुनै समय गाई बस्तु पस्दा समेत शुद्ध रहने जानकी मन्दिर आज एउटी विधुवा महिला पस्दा गंगाजलले सफा गरियो । हे जनकी माता यो कस्तो बिडम्बना हामी निरीको ।
के गाई बस्तुलाई जति पनि सम्मान र स्नेह छैन हामी नारीलाई ? विधवा हुदैमा के नारीले श्रीमान संगै आफ्ना बाच्ने रहरलाई कुन्जाएर राख्नु, कि श्रीमान संगै सति जाने कुपरम्परालाई अगाल्नु ? होइन भने किन गरे त्स्तो व्यवहार। एउटी नारी जो देश चलाउने अटुट आँट बाकेर सत्तामा पुगेकी छिन, देश सम्हाल्ने उच्च पद प्राप्त गरेकी छिन। उनको साहस र आँटको कदर नगरी अपहेलना देखाउनेले आफ्ना छोरी, बुहारी र श्रीमतिलाई कस्तो व्यवहार गर्लान् ? केही काममा संलग्न नरही दिनभर घरको काम गर्ने नारीको अवस्था के होला ? सक्छौ भने हे पुरुष तिमीहरु मात्र देश निर्माणमा जुट, समुन्नत बनाएर देखाउ । होइन भने नारीमाथि गरिने अमानवीय व्यवहार कहिलेसम्म ?
-आर्दश समाज दैनिकमा प्रकाशित