sabita sapkota. Powered by Blogger.
होचा दलबहादुरको सगरमाथा जस्तो अग्लो प्रेम कहानी



ढुंगाकाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल’ माधव घिमिरेको यो गीत दलबहादुर कार्कीको जीवनसँग ठ्क्याक्कै मेल खाने खालको छ । गुल्मीमा जन्मिएका कार्की शारीरिक रुपमा औसत मानिस भन्दा होचा छन् अर्थात उनी अहिले आम मानिसले भन्ने ‘होचा–पुट्का’ हुन् ।

तर, उनको सोँच र सफलता भने सगरमाथा जस्तो उचो छ । शारीरिक रुपमा उचो भएर पनि क्षमतामा उचो बन्न नसकेकाहरुका लागि समेत उदाहरण बनेका कार्कीलाई केही दिन अघि भृकुटीमण्डपको एक रेष्टुराँमा भेट्दा उनी काउण्टरमा निकै व्यस्त थिए । करीब पाँच लाखको लगानीमा आफैँले सञ्चालन गरेको त्यस रेष्टुराँमा उनीसँगै उनकी श्रीमती पनि खटिरहेकी थिइन् ।

केही समय उनीसँग कुराकानी गर्ने अनुमति पछि उनी कुराकानी गर्न राजी भए । होचा–पुट्काको जीवन संघर्ष, समाजबाट भोग्नु परेका पीडा, पारिवारिक समस्या आदिका बारेमा उनीसँग कुराकानी गर्ने प्रस्तावलाई स्वीकार गर्दै उनले आफ्नो जीवन संघर्ष निकै मार्मिक ढंगले प्रस्तुत गरे । गुल्मीको गाउँमा जन्मिएका कार्कीले भविश्य खोज्दै राजधानी आएको कथा पनि निकै मार्मिक र रोचक पाराले बताए ।

‘शारीरिक रुपमा होचो भए पनि म पहिल्यैदेखि सिर्जनात्मक–रचनात्मक काममा अघि थिएँ,’ रेष्टुराँमै चियाको सुर्की तान्दै उनले भने, ‘म आफैँ गीत गाउने नाच्ने र अरुलाई नचाउँने गर्ने ।’ समाजमा होचा–पुट्का भनेर केही घृणाको दृष्टिले हेर्नेहरुको संख्या पनि कम छैन । तर, कार्कीले त्यस्तो सामना गर्नु परेन । ‘स्कुल पढदादेखि नै म सबैका आखाँका नानी जस्तो थिएँ,’ उनी एकछिन बाल्यकालतिर फर्किर र भने, ‘मेरो प्रतिभाले पनि हामीलाई हेरेर हाँसि–मजाक गर्नेहरुका मुखमा बुझो लागेको थियो ।’

त्यसो त कार्कीलाई पनि ‘तिमी होचो छौँ’ भनेर सहानुभूति दिनेहरुको जमात पनि थियो । तर, उनीहरुलाई कार्कीले बेवास्ता गरिरहे । ‘कुकुर भुक्दै गर्छ हात्ती लम्कदैँ गर्छ भने झैँ मैले पनि मलाई होच्याउने र खिसिटिउरी गर्नेहरुको मुखमा बुझो लगाउँदै अघि बढ्दै आएँ,’ हल्का मुस्कुराउँदै उनले भने, ‘स्कूल पढदा शिक्षकहरुले बेन्चमाथि उभ्याएर नाच्न लगाउनुहुन्थ्यो, सबै साथीहरु हौसला दिदँै ताली पिटथे । म उनीहरुकै प्रेरणाले यो ठाउँसम्म आइपुगेको छु ।’ दुबई, सिंगापुर, ओमान, भारतलगायतका आधा दर्जन बढी देशमा साँस्कृतिक कार्यक्रम लिएर पुगेका कार्की ती देशमा पनि नेपालीहरुबाट मायाँ पाएको बताए ।

‘मेरो प्रतिभाकै कारण देश–बिदेश घुम्ने अवसर प्राप्त भयो,’ उनी केहीबेर भाबुक भए ‘पहिला–पहिला गाउँमा हुदाँ कहिले काँही आफुले आफैलाई अभागी सम्झन्थेँ । अग्ला मानिसहरुको भीडमा म मात्र यो समाजको हाँसि–मजाक पात्र भएँ जस्तो लाग्दथ्यो । तर, त्यस्तो होइन रहेछ ।’ उनले कुराकानीकै त्र mममा होचा–पुट्काले समाजमा गौरव गर्न लायक काम गरेको र त्यसले आफुलाई पनि गौरव लागेको बताए ।

कुराकानीका क्रममा उनी केही रोमाञ्चक ‘मुड’मा पनि प्रस्तुत भए । शारीरिक रुपमा होचो–पुट्को भए पनि मन होचो–पुट्को नभएको उनले बताए । ‘सानैदेखि नाच्न र गाउनमा म निकै सिपालु थिएँ । त्यसैबेलादेखि ठिटीहरु मसँग म खुब जिस्किन्थे । म पनि के कम जिस्क्याई दिन्थे,’ हल्का लजाउँदै उनले भने, ‘स्कुल पढदा एउटी युवतीसँग मायाजालमा परियो । उचाइमा उनी म भन्दा अग्ली थिइन तर बिचार भने तराईको समथर भूभाग जस्तै एउटै थियो ।’
ती युवतीसँग करिब तीन वर्ष गहिरो माया–प्रेममा फसेको उनले बताए । ‘समाजले औँला ठडाएपछि उनका परिवारले अर्को 

केटासँग बिबाह गरिदिए,’ पहिलो प्रेम असफल भएको कथा सुनाउँदा उनी फेरि भाबुक भए, ‘म होचो भएकै कारण मैले मेरो पहिलो प्रेमिका गुमाउनु प¥यो ।’ ती पहिलो प्रेमिकासँग साटेका रमाइला पल खोतल्दै गर्दा उनीकी श्रीमती भने बालबच्चालाई विद्यालय पु¥याउन गएकी थिइन् ।

‘पहिलो पे्रम कहिले मर्दैन भनेजस्तै अझैपनि उनीसँग साटेका पलहरु स्मरणमा आइरहन्छन,’ कुनै वियोगान्त चलचित्रको कथा जस्तै उनले आफ्नो कथा खोतल्दै गए, ‘रोधीमा गाउँन जाँदा लुकीछिपी लाएको त्यो जवानीको पे्रम केबल जीवनमा एकपटक मात्र मौँलाउदो रहेछ । साँचो मायामा तगारो आएपछि अरु कुनै युवतीसँग पे्रम गर्ने इच्छा सधैँका हराएर गयो ।’ उनले एक मन त बिबाह नै नगरी जीवन बिताउँने निर्णय गरेका थिए । ‘तर यो लामो जीवमा एक्लै यात्रा गर्ने निकै कठिन हुँदोरहेछ,’ उनले बिबाह बन्धनमा बाँधिनुको बाध्यता यसरी खोले ।

उनले पहिलो पटक राजधानी आउँदा निकै नै कठिन परिस्थितिको सामाना गर्नुपरेको थियो । ‘नयाँ ठाउँ र नयाँ परिवेशमा सबैलाई असहज हुनेगर्छ,’ उनले भने, ‘बिस्तारै माहोल सहज बन्दै गयो । आफूजस्तै धेरै साथीहरुसँग भेट भयो, मनोबल उच्च हुदैँगयो । यो समाजले अनि यहाँका आमाहरुले पनि म जस्तै धेरै होचा–पुट्कालाई जन्माएका रहेछन भन्ने महशुस भयो । म जस्तै अन्य साथीहरु धेरै नै जम्मा भयौँ र हामी संगठित रुपमा नै लाग्यौँ । होचाहरुको अलग्गै संसारमा हामी रमाउन थाल्यौँ ।’
‘लामो जीवनको यात्रा एक्लै पार गर्न निकै कठिन हुँदोरहेछ,’ उनले थपे, ‘म वैवाहिक जीवनमा बाँधिए ।’ 

२ वर्षको अनवरत पे्रमपछि रुपा कार्कीलाई भगाएर काठमाडौँ ल्याएका कार्कीले अहिले दुई जनाको बुबा भएको गौरवका साथ बताए । कुराकानी गर्दैगर्दा चिया कपमा रित्तिएको थियो तर कार्कीको कथा पूर्ण भने पूर्ण हुँदै आएको थियो ।
छुट्ने बेलामा रुपा भगाउँदाको कहानी पनि निकै रोचक पाराम बताए । ‘म होचो थिएँ । तर, रुपा अग्ली,’ कार्कीले भने, ‘होचासँग छोरी गई भनेर उनका माइती पहिला खुव रिसाए । पछि सम्झिदैँ गए । अहिले निकै राम्रो छ ।’ जीवनमा केही गरेर बाँच्ने आँट गरेका कार्कीले छुट्ने बेलामा भने, ‘उचाइमा सानो भए पनि आत्मबल बलियो भयो भने शिखर चुम्न र सफलता प्राप्त कुनै मुस्किल छैन ।’