sabita sapkota. Powered by Blogger.
मैले पुज्ने गुरु !

          



बिहानै उठेर म टिउसन क्लास जान लागेकी थिएँ । मेरो अघि अघि एउटी सानी नानी हातमा फूल लिएर आफ्नो गन्तव्यतर्फ लम्कदै थिइन् । म उनको पछिपछि थिएँ । एका बिहानै हातमा फूल र रंगीचंगी काजगले बेरिएको उपहार लिएर कहाँ हिडेकी होलिन् ? कति फुर्तिली ! “पक्कै पनि कोही साथीको जन्मदिनमा जान लागेकी होलिन् ।” एक मनले भन्यो । फेरि अर्को मनले भन्यो, “होइन होला, आजकाल त बर्थ डे सेलिब्रेसन पनि बेलुकीपख हुन्छ । ” यस्तै कुरा खेल्यो मनमा । 

होइन आज मलाई के भइरहेछ, बाटो हिड्ने यि सानी नानीको बारेमा किन यति धेरै चासो लागेको ? बाटो हिड्दा सधै यसरी भेटिने मान्छेहरुको पिछा गर्न थालें भने म आफ्नो लक्ष्यमा कसरी पुगौंला ? म भन्दा उनी केही पाइला मात्र अगाडी थिइन् । उनलाई सोधौं भनेपनि नचिनेको मान्छेसँग कसरी बोल्ने ? आँटै आएन । 

म मान्छे काँतर नै हुँ । सानी नानीसँग पनि बोल्न नसक्ने । सानैदेखि खासै नबोल्ने स्वभाव भएर होला । सानैदेखि लजालु स्वभावकी हुँ । हत्तपत्त अरुसँग बोल्ने आँट गर्नै सक्दिनँ । के भनेर बोल्ने ? चाहिएको बेलामा त यो दिमागमा पनि केही कुरा आउँदैन । केही बहाना बनाएर बोलौं कि जस्तो लाग्यो । फेरि आफ्नै मनले भन्यो, “आजकालका बच्चाहरु भुइमा कुरा खस्न दिंदैनन् एउटा प्रश्न सोध्दा अर्कै जवाफ दिने पो हो कि ? ” न मैले बोलाउँदा उनी बोल्दिनन् कि जस्तो पनि लाग्यो । 

हुन त हामी आफैं साना केटाकेटीलाई सिकाउँछौं बाटोमा भेटिएका नयाँ मान्छेसँग नबोल्नु है भनेर । अनि उनीहरुले दिएको खानेकुरा नखानु पनि भन्छौं । मनमा खुल्दुली बढीरहेकै थियो । उनको फलोअप गरेजस्तै म उनको पछिपछि हिडिरेकी  थिएँ । 

अलि अगाडि एउटा घरबाट उनी जस्तै अर्की नानी पनि निस्किइन् र उनीसँगै हिड्न थालिन् । म उनीहरु दुईजनाले के कुरा गर्छन् भनेर कान ठाडो पारेर सुन्न थालें । उनीहरुको कुरा सुनेर थाहा पाएँ कि उनीहरु आफ्नो गुरुलाई भेट्न हिडेका रहेछन् । 

ओहो ! यति साना नानीहरुलाई एकाबिहानै कस्तो जाँगर लागेको ? के यि नानीहरु दिन दिनै आफ्नो गुरुलाई भेट्न जान्छन् ? केही पाठ सिक्न जान लागेको भा त हातमा फूल र उपहार बोक्न नपर्ने । मनमा फेरि अर्को प्रश्न उब्जियो । मेरो मनले यतिमात्रै के सोचेको थियो, कानले जवाफ पाइहाल्यो । गुरु पूर्णिमा !  

मेरो दिमाखमा करेन्टले झड्का हानेझै भयो । म झसङ्ग भएँ, भर्खर निन्द्राबाट ब्युझिए झैं । ओहो ! आज त गुरु पूर्णिमा पो रहेछ, सबैले आ—आफ्नै गुरुलाई पुज्ने दिन ।

  मानिस आमाको गर्भबाट जन्मेपछि सिक्ने प्रक्रिया सुरु हुन्छ । जन्मेदेखि मृत्युसम्म यो सिकाइको प्रकृया निरन्तर चलिरहन्छ । बिरामी भएकाले म धेरै दिनदेखि पढ्न जान सकेको थिइनँ । गुरु पूर्णिमा र छुट्टी भन्ने ख्याल नै भएन । 

म घर फकिएँ र सोच्न थालें । म चाहिँ कुन गुरुलाई पुज्न जाउँ ?जन्मेदेखि अहिलेसम्म धेरै गुरुहरुबाट धेरै कुरा सिकें । सबैको नाम लिस्ट तयार पार्ने हो भने सानो एउटा पुस्तक नै तयार हुन्छ होला । जीवनको पहिलो गुरु बा — आमा, जसले बोल्न सिकाए । त्यसपछि मलाई कलम समाएर क, ख, ग,........लेख्न सिकाउने गुरु, कर्मक्षेत्रमा लागेपछि काम सिकाउने गुरु, अनि जीवलाई सही ढंगले अघि बढाउन सल्लाह, सुझाव र हौसल्ला दिने अरु गुरुहरु । जीन्दगीको यो यात्रामा आजको दिनसम्म आइपुग्दा मेरो जीवनमा थुप्रै गुरुहरु जोडिए । 

अन्तिम निर्णय गरें । हातमा फूल र उपहार बोकें । अनि हिडें म आफ्नो गुरुलाई भेट्न, जसले मेरा कलिला हातलाई समाएर क,ख,ग.....लेख्न सिकाएका थिए । मनले भन्यो, “उनले हात समाउदै क,ख,ग......लेख्न नसिकाएको भए आज म केही गर्न सक्दैन थिएँ ।” मैले आज जे लेखिरहेछु त्यसको जग तीनै गुरु र उनैले लेख्न सिकाएका क,ख,ग,....नै हो, सायद । 

मलाई देखेर गुरु निकै खुशी हुनुभयो । मैले हातको फूल र उपहार गुरुको हातमा थमाएँ । सानो छदाँ नाकमा सिगान झुन्डाएर कहिलेकाही कट्टुमानै पिसाब फेर्ने कुरा सुनाउँदा कता कता लाज लाग्यो । यो मेरो विगत हो ।  आज गुरु पूर्णिमाको दिन म उहाँलाई धेरै सम्झिरहेकी छु । आजसम्म मलाई जुनसुकै माध्यमबाट भएपनि ज्ञान सिकाउने सम्पूर्ण गुरुहरुलाई सम्झिरहेकी छु । सम्झन चाहन्छु । 

जीवनमा अझ धेरै कुरा सिक्न बाँकी छ । अझ धेरै गुरुहरु मेरो जीवनमा जोडिनुहुनेछ । आशा छ, मेरा गुरुहरुले मेरो नकारात्मक पक्षलाई सुधार गर्दै जीवनको लक्ष्य चुम्न सघाउनु हुनेछ । सम्पूर्ण गुरुहरुलाई गुरु पूर्णिमाको शुभकामना ! ! !