sabita sapkota. Powered by Blogger.
केटो 'हरिप' छ...!




जब कोहि आएर घरको ढोका ढकढक गर्थाे , मेरो मनमा शंकाका पिडालुहरु पाक्न थाल्थ्यो । सायद उमेर पुगेका अविवाहित सबैलाई यस्तै हुन्छ होला । 'ब्याचलर' सकेर जागिरको खोजीमा थिएँ । धेरै ठाउँमा 'एप्लाई' गर्दापनि भनेजस्तो जागिर भेटिएको थिएन । सबै ठाउँमा खोज्ने अनुभवको कमी थियो । पढेरमात्र पनि केहि नहुँदो रहेछ भन्ने लाग्दै थियो । ब्याचलर सकेपछि त आफ्नो कमाई , मस्तीको जीवन हुन्छ होला भन्ने सोचाई नपुरै हुन्छ कि भन्ने चिन्ता लाग्थ्यो । भने र सोचेजस्तो नभएर पो मानिसहरु जीवनदेखि निरास हुदाँ रहेछन् । बरु स्कुले जीवननै ठिक । पढिदिए मात्र पुग्थ्यो । तर ठूलो हुदै गएपछि पढेर मात्र नपुग्ने रहेछ । समाज, परिवार , साथिभाई सबैको नजरमा फुल बनेर सुगन्ध दिलाउनुपर्ने । आफ्नो भविष्यको गन्तव्य कल्पेर त्यसको बाटो तय गर्नुपर्ने । 

अन्य महिनाभन्दा पनि मंसिरको आगमनपछि घरमा बिहेको कुरा बढिनै चल्थ्यो । एसपालीपनि मंसिर लाग्दैगर्दा एकजना काकाले केटाको कुरा लिएर आए । आफ्ना आमाबाबा भन्दापनि आफन्तीलाई धेरै चासो पर्छ यो बिहेको सन्दर्भमा । के हो यसपाली पनि छोरीको बिहे नगर्ने हो क्या हो भन्दै घरमा आउँछन् । पोहोर साल त्यस्तो गतिलो केटा आउँदा गरिदिएनौ भन्नेको पनि कमि हुदैन । केटो गतिलो भए अन्त केटि पाईहाल्छ नि के एउटैमा झुरि पर्नुपर्याे भन्दिन्छु म प्याच्च । उत्ताउलीको उपनाम दिन्छन् । कोहि केटिहरु एसएलसी दिने बित्तिकै बिहे गरे, कोहि ब्याचलर पढ्दै गर्दा त कोहि ब्याचलर सकेर गर्ने सोचमा छन् र आजकल कत्तिको त मास्टर्स नै गर्ने सोच छ । कहिले बिहे गर्दा ठिक हुन्छ भनेर सोध्दा सबैको फरक फरक उत्तर आउँछ । 

दिदि भन्छिन् छिटै बिहे नगर घर खान गाह्रो हुन्छ । पढाई सकेर मात्र बिहे गर । बिहेपछि पढ्ने भन्ने कुरा त्यस्तै हो । बिहे गरेका धेरैजसो साथीसङगी पनि त्यस्तै भन्छन् । के उनीहरुले भनेजस्तै बिहेपछि पढ्न  र जागिर खान असहज छ ?आफ्नी आमासँग बिदा मागेर हिड्नजस्तो सजिलो छैन रे सासूसँग बिदा माग्न । एउटी साथीले जिस्काएर भन्दै थिई कि त सासू नभएको घरमा बिहे गर्नुपर्याे । 

मनमा दुविधा हुन्छ । त्यहिपनि एकपटक हेर्दैमा के जान्छ र ? किन काकाले हाम्रो घरमा केटा देखाउने । म आफैं उसैकोमा हेर्न जाउँ भन्ने लाग्यो । केटा हेर्न आउँदा पुरै अतिथ्य संस्कार गरेजस्तै केटाकोमा दिईने सत्कार ग्रहण गर्न किन पछि पर्ने । मैले त हजुरहरुलाई के दुःख दिनु भनेर केटीलाई नै घरमा लिएर आए भन्दै काका र म केटाकोमा पुग्यौ । आखिर केटा केटि हेर्ने हुन जहाँ हेरे नि भैगो नि । हेड्मास्टर रहेछन् केटाका बाउ , घर गृहणी रहिछिन् आमा । कता गए त बाबु भनेर काकाले सोध्दा कौसिमा घाम तापिरा होला भन्दै बोलाउँदै थिए हेड्मास्टर । भर्याङबाट तल झर्दा वान्स लुक्स दिईहाले , आमाले गिलासमा पानी लिएर आईन । हेड्मास्टरले सामान्य ईन्टरभ्यु लिए । धेरै कुरा काकाले पहिले नै बताईसकेका रहेछन् । 

लभ सभ त छैन नि नानीको । भाको भा त्यहीसँग बिहे गर्थे नि किन केटा हेर्न आउँथे र भनेर भन्न मन थियो फेरी बोलिन् ।  छैनको ईसारामा मुन्टो हल्लाईदिए । अहिलेको जमानामा यो प्रश्न सोध्नु स्वभावीक हो । केटो हेर्दा हरिप नै लाग्यो । हेरेर मात्र कहाँ केटोलाई जज गर्न मिल्छ र कुराकनी गर्ने चाजोपाजो भयो । एउटा कोठामा दुवैजनालाई पठाईयो । पहिले घरमा आउने सबै केटा हेर्ने म चिया लिएर जान्थे तर केटाको घरमा जाँदा उसले चिया लिएर आएन । जाडो याममा तातो चियाको चुस्की मार्दै गफ गर्न कम्ता मज्जा आउथ्यो । बिचरी म चियाको आशामा पानी पिएर बसे । 

एकछिनको मौनता पछि आफ्नो परिचय दिए र सोधे उसको परिचय । सामान्य कुराकानी भए । केहि पढाईको अनि केहि आफ्नो आफ्नो रुचिको । उ फिल्म हेर्ने मन पराउने , म पुस्तक पढ्न । म कहिल्यै गित नसुन्ने उ गित गुनगुनाउने ।  कुन फ्याकलटी, प्रश्न मलाई थियो ? शिक्षा र मानविकी । मुख थोरै खुम्चियो । संका लाग्यो पक्कै पनि विज्ञान पढेको होला । मेरो संकाले २ मा २ जोड्दा ४ भएजस्तै ठ्याक्क मेल खायो । 

भर्खर इन्जिनियरिङ सकाएर उ पनि जागिरको खोजीमै  रहेछ । एउटा कुरा चाहि मेल खायो । सायद धेरै नेपालीहरुको जीवनमा मेल खाने विषय बेरोजगारी नै हो । कम बोल्ने भावुक स्वभावको थियो उ । धेरै बोल्ने चटपटेको स्वभावकी म । उसको अगाडी बस्दा मौन मुर्तिलाई पुजिरहे जस्तो लाग्यो । जीवन लामो छ, समय धेरै काट्नु छ । जतिसुकै मोर्डन सम्झिए पनि पश्चीमी संकृतीमा जस्तै  डिभोर्स गरेर अर्को रोज्ने चलन नेपाली संस्कृतीमा छैन । जे गरेपनि दोष केटिकै हुन्छ । घर खान नसकेर केटो छोडी भनेर विज्ञापन गरिन्छ । जे गरेपनि सजिलो छैन । उफ जीन्दगी । सायद धेरै पर पुगेछु कल्पनामा । 

जनाउ घण्टि लागेझै काकाले बाहिरदेखि बोलाउनुभयो । हामी दुवै कोठाबाट निस्कीयौ ।  काका र म भोली निर्णय दिउँला भनेर घरतर्फ लाग्यौ । आमाले खाना खान बोलाएपछि म निन्द्राबाट ब्यूझिए र झसङग भए । राती नबेरसम्म बसेकोले म त बिहानभर भुसुक्क निदाएछु । सायद फेसबुकमा देखिने बिहेको रमझम र मसिंरको आगमनले सपना पनि त्यहीसँग सम्बन्धीत देखेको हुनुपर्छ । आमालाई सुनाए । दुवैजना मिलेर गललल हास्यौँ ।