sabita sapkota. Powered by Blogger.
उफ ! कति गर्छौ बन्द, तिम्रो भुँडी भर्नु पर्दैन ?



कति सुन्नु यो नेपालबन्द र हडतालको खबर । कति सुन्नु एउटा ट्याक्सी चालकको ट्याक्सी जलाइएको खबर । समयमा अस्पताल पुग्न नसकेर बाटोमा ज्यान गुमाउनु परेको खबर सुन्दासुन्दै वाक्क भईसकें । यस्तै थियो दिदीको कविता । ‘म समाचार सुन्दिन आमा’ शीर्षकको कवितामा देशको यथार्थ प्रस्तुत गरिएको थियो । 
विप्लप दाई ! मलाई एउटा प्रश्न सोध्नु थियो । एउटा मात्र किन धेरै सोध्न मन छ । नेपाली जनताको आँगनमा कहिल्यै पुग्नु भएको छ ? बन्द र हड्तालले दुई छाक जोहो गर्न नसककेका कामदारको घरमा जानुभएको छ ? परीक्षाको समयमा हिँडेर परीक्षा हल पुग्ने बिद्यार्थोको व्यथा सुन्नु भएको छ ? गर्भावस्थामा बन्दले हस्पिटल पुग्न नसकेर ज्यान गुमाएकी आमाका टुहुरा सन्तानलाई पीडा कस्तो हुन्छ भनेर सोध्नुभएको छ ? यसरी राजधानीमा रुमल्एिर कहाँ जनताको कुरा कहाँ सुनिन्छ ?  
खोई प्रश्न कहाँबाट सुरु गरुँ । तातो आगोमा उम्लिएको दूधजस्तै भईरहेको थियो मन । भेट हुन्छ भन्ने थाहा भएको भए प्रश्नको चाङ बोकेर आउँथे । त्यो चाङ नै बन्द कोठामा छुटेछ । के हरेक समस्याको समाधान बन्दबाटै निस्किन्छ ? प्रश्न फुत्कियो मुखबाट । बिप्लवले उत्तर दिए, ‘विगत २ वषदेखि हामीले बन्दमार्फत समस्याको विकल्प खोज्दै आईरहेका छौँ ।’ हामीलाई जे ठिक लाग्छ, त्यही गर्छौँ । 
‘अस्तिको बन्दले मुल्यवृद्धि घट्नुको सट्टा झन ४.८ प्रतिशतले बढ्यो नि’ भनेर सोध्नै लाग्दा म निन्द्राबाट ब्यूझिएँ । नेपाल बन्दको दिन सुतेरै बित्छ । कलेज बन्द हुन्छ । पढ्ने कुरा त परै जाओस् । केही काम पनि गर्न मन लाग्दैन । बन्दको दिन मुख चाही किन बन्द हुँदैन ? अनावश्यक जिज्ञासा उम्रिन्छ मनमा । मुखै बन्द भए खाना कताबाट खानु ? अनि कसरी बाँच्नु ? एकदिन खान नपाउँदा आकुल ब्याकुल हुन्छ मान्छे । तर सिङ्गो देशै बन्दको मारमा पर्दा केही विकल्प छैन ? कहिले महङ्गी, कहिले भ्रष्टचार, कहिले पेट्रोलको मुल्यवृद्धिको बहाना गर्दै गरिने यस्ता बन्दले देशको विकास होला त ?
हामी एक दिन बन्द हुदाँ बेकामका हुन्छौं । तर किन यो बन्द प्रतिकार गर्न अगाडि बढ्दैनौं । धेरैजसो हुने गरेका बन्दलाई केलाउँदै हामीले बन्दका ढोकालाई खोल्ने प्रयास गर्नुपर्छ । बन्दका कारण खोतल्ने र समाधानका लागि कोसिश गर्नुपर्छ । जबसम्म राज्य स्तरबाट बन्द गरिएका ढोकाहरू खोलिँदैनन्, तबसम्म देश सधैं बन्द नै रहिरहने छ । जनताले पाउनु पर्ने समानता, न्याय र अधिकारको ढोका जति बेलासम्म बन्द हुन्छ त्यति बेलासम्म साँचो अर्थमा नेपाल हुँदैन । 
राष्ट्र, राष्ट्रियता र नागरिक अधिकारको कुरा गर्ने राजनीतिक पार्टीहरुले आम देशवासीलाई सास्ती हुने गरी नेपाल बन्द, चक्काजाम जस्ता आन्दोलनका कार्यक्रम गर्नु उपयुक्त र न्यायोचित होला त ? जनताको लागि भन्दै जनतालाई नै दुःख दिने कार्य न्यायसम्मत कहिलेसम्म होला ? के भोलिको बन्दले मूल्यवृद्धि फिर्ता होला ? कुनै पनि मागहरु वार्ता र सम्वादको माध्यमबाट पनि पूरा गर्न गराउन सकिन्छ । आफ्ना माग पूरा गर्न गराउन सडकलाई रोज्दा भोलिको देश कस्तो होला ?