आफूले चाहेको गर्न र मन परेको खान तथा लगाउन पाउँदा आफूलाई धनी छु जस्तो लाग्छ । जीवनको कुनै मोडमा आएर यसरी कहिले आफूलाई गरिब र कहिले धनीको दर्जामा पाउँछु । यसरी कुनै परिस्थितिमा गरिब र कुनै परिस्थितिमा आफूलाई धनी सम्झिने म धनी हुँ कि गरिब भन्ने भ्रम आफँैमा पैदा हुन्छ ।
सामान्यतया हाम्रो देशमा आफ्ना आधारभुत आवश्यकता पूर्ती गर्न नसक्नेलाई गरिब भनिन्छ । पैसाको अभावमा आफूले चाहेको उच्च शिक्षा लिन नसक्ने विद्यार्थी गरिब हुन् कि होईनन् ? हस्पिटलको बेडमा आफ्नो उपचार खर्च गर्न नसकेर छटपटाईरहेका मानिसहरु गरिब हुन् कि आफूसँग पैसा हुदाँहुदै पनि समयमा अस्पताल जान नसक्ने मानिस गरिब हुन् ?
कोहि मानिस भन्छन् यो मान्छेको सोच गरिब छ, धन भएर के गर्नु । आफूसँग प्रसस्त पैसा हुने मानिसलाई गरिब भन्न मिल्ला कि नमिल्ला ? आफ्नो आधारभूत आवश्यकता पूरा गर्न नसक्ने गरिब कि ? आफूले चाहेको खान, लाउन नसक्ने गरिब ? एउटा लेमिनेटेड कागज बोकेर मानिसको भिडमा दुःखका हात फैलाउने गरिब कि ? उसलाई धक्का लगाएर हिँड्ने गरिब ?
म हरेक दिन गरिबको परिभाषामा परिवर्तन पाउँछु । अमेरिकामा भएको गरिब नेपालमा धनी कहलिन सक्छ । हरेक देशमा विभिन्न स्तरका मानिसहरु हुन्छन् । कोही धनी वर्गका हुन्छन् भने कोही माध्यम वर्गीय र कोही न्यून वर्गीय हुन्छन् । सबैले खाने खाना, लगाउने लुगा र बाच्ने शैली एउटै हुँदैन । एउटै आमाबाट जन्मेका सन्तानमध्ये पनि कोही धनी र कोही गरिब हुन्छन् ।
महलमा पसल गर्ने सबै व्यापारीलाई धनी भन्न मिल्ला कि नमिल्ला ? के सडकको छेउमा व्यापार गर्ने सबैलाई गरिब भन्न मिल्छ ? गरिबको परिभाषा केका आधारमा गरिन्छ ? सामान्य गणनामा एउटा व्यक्तिले १९ हजार २ सय ६१ रुपैयाँभन्दा कम वार्षिक रूपमा खर्च गर्नसकेको अवस्था छ भने यसलाई गरिबीको सूचीमा राखिएको छ भनेर गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले मानेको छ । अन्तराष्ट्रिय प्रावधानमा भने तुलनात्मक रूपमा प्रति डलर दैनिक खर्च गर्न नसक्नेलाई गरिबको सूचीमा राख्ने गरिएको छ । हरेक मुलुकले निकाल्ने आ–आफ्नो ‘गरिबी सूचांक’ अनुसार नेपालको कुल जनसंख्यामा २५ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् ।