sabita sapkota. Powered by Blogger.
समाजपिच्छे फरक छाउघर


केही महिनाअघि प्रकाशित छाउघर उपन्यासको नामले नै मलाई त्यो पुस्तक पढ्न प्ररित गर्र्याे । राज सरगमद्वारा लिखित फाइन प्रिन्टले बजारमा ल्याएको यो पुस्तक छाउघरमा १२ वर्षे बालिकादेखि अन्य उमेरका छाउ हुने महिलेले भोग्ने दुःख, कष्ट, भोक, प्यास, डर, त्रास र नारीहरुको बाध्यताको चित्रण गरिएको छ । छाउ, महिवारी, मिन्स बारे बुझ्न चाहाने जोकोहीका लागि पनि पुस्तक उपयुक्त छ । समाजसेवा पढ्दै गरेकी म । समाजसेवी बनेर समाजको सेवा गर्ने उद्देश्य बोकेर यो विषय पढ्दै गरेका र छाउको विषयमा नयाँ अनुसन्धान गर्न चाहानेका लागि झनै यो उपन्यास उपयोगी छ ।यस उपन्यासकी प्रमुख पात्र कला र उनलाई पहिलो पटक छाउ हुँदाको अनुभव र २२ दिनको भोगाइको अनुभूतिले मलाई पनि पहिलो पटक महिनावारी हुँदाको समय याद गरायो । समाज, रीतिरिवाज, परम्परा, भूगोल अनुसार छाउ बार्ने चलन बेग्लाबेग्लै हुँदो रहेछ । कलाजस्तै म पनि १२ वर्षको उमेरमा महिनावारी भएकी थिएँ । उनी छाउ भएर छाउगोठ गइन् तर म भने भंैसीको गोठमाथि बसेँ, जसलाई हामी धन्सार भन्ने गर्छाै ।उनले छाउ बस्दा धेरै कुरा सिक्न पाइन् तर म एक्लै बसेँ जसका कारण ती ज्ञान आर्जन गर्न पाइन् । ७ दिन लुकेपछि म बाहिर निस्किन पाएँ अर्थात घर जान पाएँ तर उनी २२ दिनसम्म त्यहीँ बस्नुपर्याे । घरमा गएपछि पनि कोठाको एक कुनामा भुइँमै विस्तारा लगाएर २२ दिन बारेँ मैले तर छाउगोठमै बिते कलाका २२ दिन ।भुत, प्रेत, जङ्गली जनावर, सर्प, राक्षसी रुप लिएर छाउघरमा प्रवेश गर्ने लोग्ने मानिस सबैको त्रास खेपिन् उनले । कठै ! छोरीको जीवन । जन्मेको १२ वर्षदेखि नै मृत्युको परीक्षा सुरु भयो । यो खान हुन्छ, त्यो खान हुन्न, यहाँ जान हुन्छ, त्यहाँ जानु हुँदैन् । देवताको नाम लिएर सुरु गरे पुरुषहरुले महिलामाथि अत्याचार ।आफूलाई साधु सन्त मान्छन् धेरै पुरुषहरु । भर्जिन छु भनेर गर्व गर्छन् । मध्यरातमा प्यास मेटाउँछन् अनि दिनमा धाक लगाउँछन् । ओहो ! छाउघरमै समेत धाउँदा रहेछन् । दिनमा छाउ भएकी नारीले छोएको नखाने, उनीहरु हिँडेको बाटो नहिँड्ने पुरुष अनि रातमा छाउगोठमै आक्रमण गर्न आउने पुरुषजाति तपाईं के भन्नुहुन्छ ? वनको बाघ र त्यो पुरुषमा के भिन्नता भयो र ?महिनावारी बसेकी भागीरथी दिदीलाई सर्पले टोकेर मृत्यु हुनुले महिलाहरु कतै पनि सुरक्षित छैनन् भन्ने कुरालाई देखाउँछ । भरत काकासँग उनको लुकेको प्रेमले समाजमा लुकेर रहेका प्रेमको बास्ना दिलाउँछ । अन्तरजातीय मनोवृत्ति, छुवाछूत आदि कुराहरुबाट समाज अझै अगाडि बढ्न नसकेको चित्र प्रष्ट देखिन्छ । सहरमा दिउँसै अङ्कमाल गरेर हिँड्ने प्रमिल जोडी र गाउँघरमा रातको मौका छोपेर रोमान्स गर्ने प्रमीहरु । देखावटी र लुकिछिपी गरिने आखिर प्रेम, प्रेम न हो । रुपा भाउजूले गोठमा बच्चा जन्माउँदा भोगेको पीडा उफ ! घाँस काट्ने आसीले काटेको उनको नाभी । सम्झँदा पनि जिउ नै सिरिङ्ग हुन्छ । प्रेमकै निम्ति उनले गरेको त्याग, नुन र पिरोसँग सुत्केरी ज्यानमा खाएको भात । कम उमेरमै महिलाहरु विभिन्न रोगको शिकार हुने एउटा कारण रुपा भाउजूको अवस्थाले चित्रण गर्छ ।अन्धविश्वासको कुरीतिले जरा गाडेको नेपाली समाजमा कलाजस्तै विद्रोही पात्रको खाँचो रहेको कुरालाई लेखकले राम्रैसँग प्रस्तुत गरेका छन् । नारीको मनको कुरालाई लेखकले न्याय गरेका छन् । पढ्दै जाँदा कुनै नारी हस्ताक्षरले नै किताब लेखेको जस्तो लाग्छ । पुरुष मार्फत नारीको मनोभाव लेखिनुले यस्ता प्रथाहरु हटाउन दुवै मिलेर अगाडि बढ्नुपर्छ भन्ने सङ्केत गरेको छ ।डोटेली शब्दले पुस्तक पढ्न केही असहज भए पनि अन्तिममा रहेको शब्दकोश पल्टाउँदा सहज भएको छ ।
Golden Oak