sabita sapkota. Powered by Blogger.
पारुको विवाहपछि...



जुन दिन अभयले सिउँदो रङ्गायो, गलामा पोते भिराइदियो त्यही दिनदेखि उसको बनी पारु । परम्परा अनुसार धुमधामसँग बिहे भयो उनीहरुको । जन्ती पनि धेरै आएका थिए । एक्ली छोरी धुमधामसँग अन्माइदिए बाआमाले । 

कोरिया गएर आएको केटो, अभय सुनले ढपक्कै ढाकिदियो । ‘भाग्यमानी रहिछे केटी ।’ ‘जाँड, रक्सी, चुरोट केही नखाने असल लोग्ने पाइ ।’ यस्ता टिप्पणी धेरैले गरेका थिए बिहेमा । यथार्थमा पारु जस्तो अशल र हकी केटी पाएर केटो पनि भाग्यमानी नै थियो ।

१ महिनाको छुट्टीमा नेपाल आएको रहेछ अभय । त्यही मेसोमा पारुसँग बिहे भएको थियो । १५ दिन केटी खोज्दै बित्यो । बिहे गरेको १५ दिन मात्र सँगै रहे नवविवाहित जोडी । दुई हप्तामै उनीहरुले एक अर्कालाई बुझ्न कठिन थियो नै ।

छोडेर जाने दिन नजिकिँदै गर्दा पारुले आँखाभरी आँसु पारी । श्रीमान अहिले नै अलग नभए हुन्थ्यो भन्ने सोच्थी ऊ । ‘बिहे गर्दा लागेको ऋण तिर्नुछ, घरमा बिरामी आमा, यहाँ बसेर कसरी गुजारा चल्छ र ?’ भनी चाँडै फर्किने आश देखाउँदै अभय फेरि कोरिया जाने निधो गर्यो । पहिले कमाएको पैसा नयाँ घर बनाउँदा र विहे गर्दा सकेको थियो उसले ।

अभयको बाध्यता बुझेकै थिइ पारुले पनि । मनमा दुख भए पनि हाँसेरै बिदा दिइ उसले । त्यसो त उसले चाहेर पनि केही गर्न सक्ने अवस्था थिएन ।

विहे गर्नुअघि ब्याचलर सकेर जागिर खाँदै थिई पारु । विहेपछि भने अभय र उसको परिवारबाट पारुलाई बिहेपछि जागिर छोड्ने दवाव आउन थाल्यो ।

बिरामी भइराख्ने सासूको स्याहार गर्ने अभिभारा उसको टाउकोमा थपिएको थियो । घरको सारा कामले लखतरान हुन्थी ऊ । बिचरी माइती छँदा होस्टल बसेर पढेकी । खाएको भाडा समेत माझ्नुपर्दैनथ्यो । सोच्थि कहिलेकाहीँ ‘बिहे अघि नै मोज हो जीन्दगी !’

कहिलेकाहीँ आउँथे नन्द, अमजुहरु । खाना खाएपछि खाएकै ठाउँमा थाल छोडेर हिँड्थे । ‘एक दिन माइती आएको’ भन्दै सबै काम उसैलाई लगाउँथे ।

बेलुकी सुत्नेबेला आमालाई फोन गरेर आँसुका आफ्नो ब्यथा बगाउँथी पारु । कहिलेकाहीँ फोनमा पीडा पोख्थि, ‘आमा, तपाईँले दुःख गरेर ब्याचलरसम्म पढाएको के काम लाग्यो र ?’ ‘छोरीको जुनी यस्तै हो नानु ! सोचेजस्तो हुँदैन । ज्वाईँले लाखौँ कमाएकै छन् । तँलाई के को चिन्ता ?’ आमाले ढाडश दिए पनि पारुको मन मान्दैनथ्यो ।

‘पैसा मात्र सबथोक होइन’ भन्नेमा पारुको विस्वास थियो । खासमा पारु आफ्नो योग्यता, क्षमतालाई कतै उपयोगी काममा लगाउन चाहन्थी । तर विहेपछि नै उसको त्यो चाहना तुहिएको हो । पढाइ छोडेरै घरायसी काममा अल्झिनुपर्दा पारु सबैभन्दा दुखी बनेकी थिइ ।

कम्तीमा एमए पास गरी कलेजमा पढाउने ठूलो सपना थियो पारुको । केटी हेर्न आएको बेला विहेपछि पढाउँछु भन्ने बाचा भएकै थियो । तर त्यस्ता धेरै बाचा तोडिएपछि नै हो पारु दुखी बन्न थालेकी ।

पहिलो बर्ष त उसले पढ्न पाउने आशमै बिताइ । केही त्यस्ता बर्षहरु पढ्न पाउने आशमै थिइ । तर आफ्नै श्रीमानको समेत साथ नपाएपछि पढाइ पूरा गर्न पाइन ।

बेला बेला अभयको फोन आउँथ्यो । काममा व्यस्त हुँदा उठाउन भ्याउँदैनथी पारु । एक कल मात्रै फोन रिसिभ गर्न भ्याइन भने अभय रिसले चूर हुन्थ्यो ।

आक्रोशित हुँदै हप्काउँथ्यो ऊ, ‘कता बिजी थियौ ।’

एक साँझ त्यसै गरी फोन आयो अभयको । लामो समय घण्टी बजेछ । 

पारु सासूलाई खाना खुवाउँदै गरेको बेला कोठाभित्र धेरै बेरसम्म फोनको घण्टी बजेछ ।

धेरै बेरपछि थाहा पाइ उसले । हतार हतार फोन रिसिभ गरी, ‘हेलो ?’

उताबाट चर्को स्वरमा अभय बोलेको सुनियो । बिस्तारै उत्तर दिइ पारुले, ‘हजुर ।’

पारुको कुरा नसुनिकनै एक्कासी उसको हप्की एकोहोरो आउन थाल्यो, ‘कहाँ थिइस् यति बेरसम्म । किन नउठाएको फोन ?’

‘काममा थिएँ,’ पारु बिस्तारै बोली ।

फेरि चर्को आवाज आयो अभयको, ‘साँझको बेला के काम हुन्छ तेरो ?’

पारु पहिले भन्दा अली आक्रोशित स्वरमा उत्तर दिइ, ‘आमालाई खाना दिँदै थिएँ । तिमी पो काममा छौ । तिमले कमाएको पैसा पो देखिन्छ । मैले गरेको घरको कामको के मुल्य छ र ?’

‘त्यती एउटी आमाको स्याहार गर्न पनि गाह्रो भयो है अब ?’ भन्दै फोन काटियो कोरियाबाट ।

धन कमाएको घमण्ड देखाइरहन्थ्यो अभय । पारु भित्र भित्रै आक्रोशित भए पनि श्रीमान र उसको परिवारसँग झगडा गरिहाल्न सक्दैनथी ।

विहेको दोस्रो बर्ष पारुले एमए पढ्ने निधो गरी । फोनमै एक दिन उसले अभयसँग भनी, ‘अब म मास्टर जोइन हुन्छु ।’ 

‘किन पढ्नु पर्याे तिमलाई ? जति पढे नी जागिर पाउने त्यस्तै हो नेपालमा । अब १ वर्ष पछि म नेपाल फर्किन्छु । दुईजना मिलेर केही गरौँला ।’ अभयले सम्झाउने प्रयास गर्यो ।

‘मैले बिहे पहिले नै भनेकी थिएँ नी । म विहेपछि पनि पढ्छु भनेर,’ पारुले दुखी हुँदै भनी ।

अभयले उसको गुनासो सुनेन । कलेज पढ्न जाँदा घरको काम त बित्थ्यो नै । त्यसभन्दा बढी अभय आफ्नी श्रीमतिको ‘अरु पुरुषहरुसँग संगत हुन्छ’ भन्ने शंका भाव दर्शाउँथ्यो । अभयलाई घरको काम भन्दा पनि यही आशंकाले पनि गाँजेको थियो ।

पारुलाई भने जसरी पनि पढ्नु नै थियो । सानैदेखि उसको अब्बल पढाइ अन्त्य गर्न चाहँदैनथी ऊ । आफूसँगैका साथीहरुको नियमित पढाइ देखेरै पनि आफू पछि परेको आभाष गर्थी पारु ।

अन्ततः पारुले सासूको स्याहार गर्न एकजना बयष्क महिला खोजी र नजिकैको सहरमा रहेको कलेजमा एमए भर्ना भइ । बिहान कलेज र दिउँसो एउटा अफिसमा काम गर्न थाली ।

सासूको दवाव थियो नै । पारुले कलेज पढ्न थालेको कुरा अभयले पनि थाहा पाएपछि परिवारमा रडाको नै मच्चिन थाल्यो ।

पछिल्लो समय अभय पनि अक्सर पारुलाई फोन नगरेर आमालाई वा अरु छिमेकीलाई फोन गथ्र्यो । पढाइ सँगै दिउसो जागिर समेत खाएको थाहा पाएर अभय झनै जल्न थालेको थियो ।

छिमेकीहरु पनि अभयसँग पारुको विषयमा अनेक कुरा सुनाउँथे । कलेज, अफिसका पुरुष साथीहरुसँगै घर आएको देखे भने उनीहरु गाउँमा हल्ला मच्चाउन थाल्थे, ‘आज त एउटा केटोसँग हिँडेकी थिइ पारु ।’

बिस्तारै पारुको कुरा काट्न थाले गाउँलेले पनि । बिस्तारै घर, टोल, समाज हुँदै पारुको कुरा कोरियासम्म पुग्यो । अभयको कानसम्म ।

केही महिनापछिको कुरा । ८० बर्षको उमेरमा सासूको सहजै निधन भयो । तर पारुप्रति अभयको आक्रोश थामिसक्नु भएन ।

उसले बारम्बार फोन गरेर भन्न थाल्यो, ‘मेरो कुरा त मानिनस्, मेरी आमा मारिस् हैन !’

सुरुका दिनमा रिसाए पनि अभय अब पारुलाई धम्की दिन समेत थाल्यो । पारु निशब्दः हुन थाली । आफू गलत नभएको कुरा बारम्बार भन्थी ।

पारु विश्वविद्यालय पढाइ सकेर कलेज पढाउन चाहेको बताउँथी । अभयलाई उसले जति सम्झाउन खोजे पनि अभय उसको कुरा सुन्न तयार नै भएन ।

अभय धेरैजसो रक्सी पिएर पारुलाई धम्काउन थाल्थ्यो । पारुलाई पैशा पठाउन छोडेको धेरै भइसकेको थियो । पारु आफ्नै जागिरको पैशाले कलेज ‘फी’ र अन्य खर्च धान्दैआएकी थिइ । अभयको धम्की बढ्न थालेपछि अन्ततः पारु पनि अब एक्लै बस्ने मनस्थितिमा पुगी । त्यसो त पारुलाई माइतबाट समेत राम्रो सहायता भएन । जे गरे पनि श्रीमानसँग मिलेरै बस्न सुझाव दिन्थे । कसैको सहयोग नपाएकी पारु लगभग एक्लै हुन थाली ।

केही महिना बितेपछि अभय विदेशबाट फर्कियो । कोरिया गएको ३ बर्षमै अभय घर फर्किएको थियो । घर आएपछि पारुले फेरि अन्तिमपटक अभयलाई आफू गलत नभएको सावित गर्न खोजी ।

अहँ ! अभय पारुसँग बोल्नै चाहेन ।

पारुले कुनै उपाय नदेखेपछि उसको एउटै बिकल्प थियो, ‘डिभोर्स’

अभय फर्केपछिको एक बिहान ।

छिमेकीलाई उसले बोलायो । घरमा ठूलो कचहरी बस्यो । सबै मिलेर पारुलाई एक्लै बनाए । पारुकै कारण सासूको निधन भएको आरोप लगाइयो । यतिसम्म की परपुरुषसँग उसको सम्बन्ध भएको भनी निराधार आरोप समेत लगाइयो । अन्ततः कचहरीले निर्णय गर्यो, ‘पारुले अबको १ महिनामा पारुले अभयको घर छोड्नुपर्ने ।’

कलेजमा पारुकी एक मिलनसार साथी थिइ, आशा । आशासँग पारुले आफ्नो बाल्यकालेदेखि नै पारिवारिक काहानी सबै सुनाएकी थिइ । आशा र पारु खुबै मिल्थे पनि । उनीहरु दुबैको सपना उस्तै थियो । विश्वविद्यालय सकेपछि कलेज पढाउने । सँगै मिलेर केही उद्यम गर्ने पनि उनीहरु योजना बनाउँथे ।

अभयले १ महिनाको अल्टिमेटम दिएको भोलिपल्टै पारुले घर छोडी । छिमेकीहरु अभयको अर्को बिहे गरिदिने बारे सल्लाह गर्न थालिसकेका थिए ।


करिब ६ महिनापछि, 
पारु र आशा पोखरा नजिकै एउटा टोलमा संयुक्त लगानीमा चाइल्ड केयर सेन्टर संचालन गरेर बस्न थालेका थिए । चाइल्ड केयर नजिकै उनीहरुको बसाइ थियो । प्रारम्भिक अवस्थामै उनीहरुको व्यवसाय राम्रै थियो ।
टोलमा दुई युवतिको यस्तो व्यवसाय नमुना बनेको थियो । सबैको प्रशंसाको विषय बनेको थियो उनीहरुको व्यवसाय ।

एक दिन

पारुकी साथी आशाका मामा एक अपरिचित युवाकलाई साथै लिएर उनीहरुको चाइल्ड केयर सेन्टरमै आइपुगे । आशाका मामा आफ्नी भान्जीको विहे गराइदिन चाहन्थे । आशा भने केही बर्ष अझै विहे गर्न चाहँदैनथी । मामाले ल्याएको त्यो नयाँ युवक आफ्नै विहेको लागि हुनसक्ने आशाले अनुमान लगाइसकेकी थिइ ।

त्यस दिन पारु र आशा दुवै कार्यालयको काम सकेर कोठातिर जान खोज्दै थिए । आशाले मामालाई पनि कोठामै बोलाइ ।

खाजा खाने बेला भइसकेको थियो । आशा आफ्ना मामा र नयाँ युवकलाई कोठातिर लिएर गइ । आशा खाजा बनाउन थाली ।

केही बेरपछि ढोकामा कसैले ‘ढकढक’ गरेको आवाज सुनियो ।

‘ए ! पारु दुध ल्याइस् ?’, आशाले सोधी ।

पारु चियाको लागि दुध बोकेर आइपुगेकी थिइ । पारु भित्र छिर्नैलाग्दा अचानक टक्क उभिएको उभियै भइ । केही बोल्नै सकिन ।

दुधको पोका आशाको हातमा थमाएकी मात्रै के थिइ । पारु निशब्दः बनेर उभिरही । 

‘के भयो तँलाई ?’ आशाले सोधी ।

फेरि बोलाइ, ‘ओइ... के भयो क्या तँलाई ? किन नबोल्या ?’

आशा चिच्याइरहँदा उसका मामासँग आएको नयाँ युवक अचानक हतोत्साही हुँदै कोठाबाट बाहिर निस्कियो । ढोकामा राखेको जुत्ता लगाएर तुना नकसीकनै बाहिर निस्कियो ऊ ।
यसरी निस्कियो की ऊ, मानौँ, ट्वाइलेट जाने बहानामा त्यहाँबाटै भाग्यो ।

आशा र उसका मामा हेरेको हेर्यै भए । आखिर आशासँग विहेको कुरा गर्न आउने त्यो नव युवक पारुकै पूर्व श्रीमान थियो । पारुले जब मुख खोली, तीनै जना मुखामूख गरे । आशाले मामालाई हप्काउँदै आफैँलाई धन्य ठानी ।