sabita sapkota. Powered by Blogger.
देउती : पीडित आमाहरुको नाममा


पत्रकारितामा अब्बल, सामाजिक संजालमा चर्चित नाम हो अक्षर काका । उनैले लेखेको उपन्यास देउती । समाजमा बाँच्नका लागि नारीले भोगेको दुःख । यात्रामा भोगेका कठिनाई । हाम्रो हजुरआमाको पुस्ताको भोगाइलाई सजिव शब्दमा उतारेका छन् लेखकले ।
उपन्यासकी प्रमुख पात्र देउती, जसले वास्तविक दुःखको गहिराइमा पुगेर जीवन यापन गरेकी छिन् । उनीजस्तै हजारौँ देउतीहरु अझै पनि समाजमा थुप्रै छन् । उपन्यास ‘देउती’ले उनको कहानी मार्फत हजारौँ देउतीको पीडा ओकेलेको छ ।
सानै उमेरको बिहे अनि घरधन्दामा फसेको उनको जीवन । बन्धनबाट उम्कन नदिने पुरुष अनि नारी भएर नारीकै मर्म नबुझ्ने समाजका काँडाहरु । सानै उमेरमा बिहे हुने प्रचलमा केही सुधार आए पनि अझै नारीहरु पुरुषकै पैतालामा दबिएर बस्न बाध्य छन् । ‘नारीले यो गर्न हुन्छ , त्यो गर्न हुदैन, यो खान हुन्छ त्यो खान हुँदैन’ । सबै पर्खाल नारीमा मात्र किन ? परापूर्व कालदेखि चल्दै आएका कुसंस्कारको घेराबाट अझै नारीहरु बाहिर निस्कन सकेका छैनन् ।
भारतको धार्मिक स्थल काशी गएका श्रिमानको पर्खाइमा बितेको देउतीको जीवन, भरभराउँदो बैँस, फूल्दै गरेकोे उनको यौवन । त्यही यौवन र जवानीमा आँखा लगाउने बलत्कारी यही समाजमा छन् । विदेशीएको श्रिमानको पर्खाइमा आफ्नो जवानी धेरैले रित्याएका छन् । तिरस्कार खेपेर एकल जीवन धेरैले यापन गरिरहेका छन् ।
बिहेपछि सासुलाई कोसेली लगेर खाममा पैसा हाली ढोग्ने चलन । बुहारीले जेठाजुलाई छुन नहुने प्रचलन, छोराछोरी पाउना साथ माइती बसेर आउँदा कोसेली र लुगाफाटा दिने चलन अझै पनि हाम्रो समाजमा बिध्यमान छ ।
माइतीले एकपटक सुम्पिएपछि लोग्ने चोर, फटाहा, आवरा, गुन्डा, जँड्याहा जस्तो भए पनि खपेरै बस्नुपर्ने सामाजिक मान्यता अझै छ । आफ्नो ईच्छा भन्दा पनि समाजले के भन्ला भन्ने मानसिकताबाट ग्रसित छन् नारीहरु । हिँड्दा, बस्दा, खाँदा सजग हुनुपर्ने बन्धन त समाजले लगाइदिएको नै छ । कठै ! पानि कुवामा उभाउँदा पनि बिचार पुर्याउनुपर्ने नारीको जीवन । त्यस्ता अनगिन्ति पीडालाई उपन्यास ‘देउती’ मा लेखक अक्षर काकाले कालत्मक रुपमा उतारेका छन् । प्रश्न उठ्छ की, अझै कतिसम्म गुज्रिने यस्तै पीडामा नारीहरु ? जब एउटा नारी नै अर्काे नारीको बिरोधमा लाग्छन् भने कसले मुक्तिको अपेक्षा राख्ने ?
देउतीलाई ‘बौसी’ भन्ने जिम्मल्नीजस्तै पात्र समाजमा कहिलेसम्म प्रभावशाली बन्दै जालान् ? यस्तो चिन्ताबारे पनि लेखकको चिन्तन पुगेको छ । महिलाहरु शिक्षित र आत्मानिर्भर बन्नु नै अन्तिम बिकल्प हो ? यो समाज र पुरुषले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन कति आवश्यक छ ? यो प्रश्न महिलामाथि अत्याचार र दमनको राज गर्ने सबै पुरुषहरुलाई ।
सन्तान जन्मँदा नारीले खप्ने प्रसव पीडा र सन्तान नहुँदा समाजले दिने तिरस्कार । त्यही तिरस्कारले अन्तिम मृत्युको बाटो रोज्ने माइली । जसले समाजमा सन्तानविहिन नारीहरुको प्रतिनिधित्व गरेकी छिन् । कुरा काटेकै भरमा उनको मृत्यु हुनुले अझै पनि नारीहरुमा ज्ञानको अभाव छ भन्ने प्रष्ट छ पुस्तकमा । ‘पटक–पटक मर्नुभन्दा एकैपटक मर्न जाती’ भनेर मृत्युको साथ लिएका खबरहरु बेला बेलामा पढ्न पाइन्छ । किन यस्तो मृत्युको शिकार पुरुष हुदैनन् या सधैँ नारी नै हुने गर्छन् ?
छोरीको बिहे गरिसकेपछि पनि छोरो पाउने मोह । शिवप्रसादको तुच्छ बोली । महामरीले चिहानसम्म पुर्याएको रुकुको ज्यान । रुकुको मृत्युपश्चात छोराको मुख हेरेर अर्काे स्वास्नी नभित्र्याएका शिवप्रसाद । छोराको साट्टो अर्काे पनि छोरी भएकी भए उनले अर्काे बिहे गर्थाे होलान् या गर्दैनथे ? पढ्दै जाँदा मनमा उठेको जिज्ञासा ।
इराल्नी बजैले बुहारीमा देखाएको स्नेहभाव । यो उपन्यासको सकरात्मक पाटो हो । सासुले बुहारीलाई हेला गर्ने, होचाएर बोल्ने प्रवृतीमा अपेक्षा गरिएको सुधार हो । यस्तै व्यवहार सबै सासुले गर्दिए बिहेपछि पनि पढ्न र जागिर खानबाट नारीहरु बन्चित हुदैँनथे भन्ने एउटा उदाहरण हो ।

साइँलादाईलाई गाउँका महिलाहरुसँग बोल्यो र सहयोग गर्याे भनेर त्यो सँग पल्कियो भनेर लगाइएको आरोप । समाजमा एकल महिला मात्र होइन एकल पुरुष पनि घृणाको पात्र बन्दा रहेछन् भन्ने चित्रण छ । श्रिमती मरेपछि बिहे नगरी बसेका उनीमाथि पनि बारम्बार आरोप लगाइएको छ ।
उपन्यासका अन्य पात्र तोयानाथ, हरे, गोविन्ध, विष्णू, आदिको भुमिका पनि पठनीय छ पुस्तकमा । उपन्यासमा लेखकले विम्व र प्रतिकको राम्रै प्रयोग गरेका छन् । उखान, टुक्का पनि कलात्मक ढंगले मिसाएका छन् । प्रकृतिप्रेमलाई राम्रोसँग उतारेका छन् । पुस्तक पढिरहँदा कथाको वास्तविक स्थान सिन्धुपाल्चोक नै पुगेको भान हुन्छ ।
उपन्यासमा प्रयोग भएका केही शब्द जस्तै घाल्चा, आट, रउँ, खोरिया, गाँती, खाक, निट्यान जस्ता शब्दले पढ्दा केही असहज महशुस हुन्छ । तर ति शब्दको सही प्रयोग भएको पाइन्छ । स्थानीय परिवेशमा बोलिने कथ्य भाषा लेखकले जस्ताको त्यस्तै टिपेर बुन्दा उपन्यास थप आकर्षक बनेको छ । उपन्यासका पात्रको नाम चयन गर्दा उपन्यासकारले केही कन्जुस्यार्इँ गरेको भान भयो, कान्छा र कान्छी नामका दुई भन्दा बढी पात्र भएकोले पढ्दै जाँदा अन्योलमा परिन्छ ।