sabita sapkota. Powered by Blogger.
रहरै रहरको ब्वाईफ्रेन्ड



एसएलसी पछिको कलेज लाईफ, रमाईलो नै थियो । बिहानीको कलेज र दिनभर फुर्सदको समय कहिले चाईनिज गुम्बा त कहिले पोखराका सुन्दर तालहरु । कलेजबाट भागेका ती दिन अनि कहिलेकाहीँ नक्कली हस्ताक्षर गर्दै गेटमा बस्ने ‘मामा’लाई समेत झुक्यएका ती पल ।

 स्कुले जीवन सकिएपछि आफूलाई पिँजडाबाट निस्केको सुगा जस्तै लाग्थ्यो । चारजनाको ग्याङ, सबै उस्तै प्रबृत्तिका हाँसोमजाक अनि खेल ठट्टामा रमाउने । सबैको हात–हातमा मोबाइल हुन्थ्यो । मुख बङ्ग्याउदै खिचेको सेल्फी । फेसबुकमा लेखेको क्याप्सन, आज सम्झँदा असिम आन्नद आउँछ साइनालाइ। उर्लँदै गरेको बैँशसँगै झ्याङ्गिदै गरेका अनगिन्ती रहरहरु । रहरै रहरमा ब्वाईफ्रेन्ड बनाउने सोच आउँथ्यो । आफ्नो ग्याङमा सबैको ब्वाईफ्रेन्ड हुँदा साईनालाई पनि एक्लो महशुस हुन्थ्यो ।

 ‘मेरो ब्वाईफ्रेन्डले आज मलाई बाईकमा कलेज ल्याईदियो’, ‘मेरो ब्वाईफ्रेन्डले टेडी र लुगा किनिदियो’ भन्दा उसलाई पनि आफ्नो कोही भएको भए म पनि त्यसरी नै सुनाउँथे भन्ने मनमा लाग्थ्यो । स्ट्रेट गरेको सिल्की कपाल, गोरो वर्ण, कुहिरा आँखा अनि लोभ्याउँदो उचाई । कलेजमा उसलाई प्रपोज दिनेको कमी थिएन । मनले रोजेको र खोजेजस्तो केटा नपाएर या आमाबाबाको डरले उसलाई ब्वाईफ्रेन्ड बनाउने बारे असहज थियो । बाबा आमाकी एक्ली र जेठी छोरी छोरी ।

 घरमा रहेको भाई, दिनहुँ मोबाइल चेक गर्ने उसको बानी । यिनै कुराले पनि उ ब्वाइफ्रेन्ड बनाउन डराउँथि । ब्वाईफ्रेन्ड भएपछि फोनकल, म्यासेज भईहाल्छ अनि भाईले गाली गर्ला, आमालाई भनिदिएला ! अनि कुटाई खाने त पक्का थियो । परिवारकै बेइज्जत हुने कुराप्रति पनि उनी चिन्तित थिइ । केही समय मन बुझाएरै बसेकी थिइ तर दिनहुँ तिनै साथीहरुसँगको भेट अनि केटाहरुको लभ प्रपोजहरु । फेसबुकमा च्याट गरेर ‘हाई’, ‘हेल्लो’ गर्ने अनि ‘तिमी कति राम्री’ भन्नेको कमी थिएन । 

उमेरको प्रभाव न त हो कसले कस्तो नजरले राम्रो भनेको छ भन्ने सोच कहाँ आउँछ र ? सबैको नजरमा राम्री देखिन मन लाग्छ, सबैले आफैँलाई नै हेरुन् भन्ने लाग्छ । झयाउँकिरीले पनि तँ धेरै राम्री छेस् भन्दै गीत गाए झैँ लाग्थ्यो । एउटा साथीको दाईसँग फेसबुकमा च्याट हुन थाल्यो । कहिलेकाहीँ साथीको घर जाँदा अक्कल झुक्कल देखिने गथ्र्यो । काले भए पनि हिस्सी परेको । साइन्समा १२ कक्षा सकाएको थियो । ‘तपाईँ’ सम्बोधन देखि सुरु भएको त्यो सम्बन्ध ‘तिमी’मा पुग्यो । एकतिर एघार कक्षको परिक्षा नजिकिँदै थियो भने अर्कोतिर मनको रहरले मायाको डेरा जमाउँदै थियो । फेसबुकमा च्याट गरेर घण्टौ बितेको पत्तै हुँदैनथ्यो । 

भाईले मोबाइल हेर्छ की भनेर उसको च्याट डिलिट गर्ने बानी थियो । फोनकल खासै हुँदैनथ्यो । परिक्षा भन्दा पनि उसँगको सामिप्यता प्यारो लाग्न थालेको थियो । किताब अगाडि राखेर मोबाइल चलाउने बानी परेको थियो । जति कुरा गरे पनि अपुग नै लाग्थ्यो । “ घण्टौ च्याट गर्दा पनि अझैँ बोलिरहुँ जस्तो लाग्थ्यो । उसलाई मन पराउँछु भनेर भन्न नसक्ने । 

उसले पनि केही भन्दैनथ्यो । प्राय केटाहरु केटी आफूसँग बोलेपछि अब आफनै हो भन्ने सोच राख्छन् रे । खोई उसले मनमा के सोच्यो । बिस्तारै फोनकल हुन थाल्यो । घरमा हुँदा बोल्न डर लाग्थ्यो । कलेज जाँदा आउँदा बाटोमा कुरा हुन्थ्यो । आमासँग कपी किन्नु छ भनेर पैसा मागी रिचार्ज कार्ड हाल्ने गर्थे । ‘केटाहरुलाई कति मोज है ? जतिबेला जहाँ हिँडे पनि जोसँग बोले पनि कसैले केही नभन्ने ।’ एकदिन साइनाले सोधी । ‘केटी हुनु मोज छ नी । विदेश जाने केटा खोजेर बिहे गरे भैहाल्यो । 

आफूले केही नगरे पनि हुने’, उसले भन्यो । ‘आजकल त केटीहरु पनि पढेर जागिर खान थालेका छन् । सबै केटी त्यस्तो सोचका हुँदैनन् ।’ साइनाले उत्तर दिइ । उसले पनि मौका छोपेर भन्यो, ‘सबै केटाहरुलाई पनि फ्रिडम हुँदैन नि ।’ यस्तै कुरा हुन्थ्यो । धेरैजसो च्याटमा नै करा हुन्थ्यो । च्याटबाट नै उसले प्रपोज राखेको थियो । साइनाको मनमा मायाको खिल बसिसकेको थियो । ‘लभ यु टु’ भन्न धेरै सोच्नुपरेन । साथीको घरमा जान्छु भनी घरमा ढाँटेर पहिलो डेट जाने सल्लाह भएको थियो । 

उनीहरुको पहिलो डेटिङ चाइनिज गुम्बा थियो । ‘ थोरै लाज अनि धेरै माया व्यक्त गर्न ओठहरु आतुर रहे पनि दुवैले व्यक्त गर्न सकेनन् । उसले हात समाउँदा समेत साइनाको मनमा डरका काँडाहरु उम्रिए । हात समातेर जीवनका उकालाहरु उक्लने बाचाका साथ सँगै उक्लिए । बिस्तारै उ आफना हातहरु साइनाको केसमा ल्याउँदै थियो । उ परपर सरेजस्तो गर्थि । यत्तिकैमा एक दिन सकियो । साइनाभन्दा उ एक वर्ष सिनियर थियो । ब्याचलर्स गर्न काठमाडौँ गयो । फेसबुकमा च्याट हुँदै थियो । साइना पनि १२ कक्षाको परिक्षा दिएर बसेकी थिई । काठमाडौँ गएर पढ्छु भन्दा परिवारबाट अनुमति मिलेन उासलाई ।

 माया व्यक्त गर्ने केबल एउटा फेसबुक थियो । उसले काठमाडौँमा एक्लै बस्दाको दुःख सुनाउथ्यो ।बिहे गर न सुख हुन्छ भनिदिन्थी साइना । अहिले कहाँ बिहे गर्नु अझै १० वर्ष गर्दिन भन्थ्यो उ । पढाई सकेर जागिर खाई आफ्नै खुट्टामा उभिएपछि बल्ल बिहे गर्ने हो भन्थ्यो । यता साइनाको घरमा आफन्तहरु बिहेको कुरा दिएर आउँथे । विदेशमा पिआर पाएको गतिलो केटा छ भन्थे कोही, कोही डाक्टर सकेर जागिर खाँदै छ भन्थे । ‘अहिले बिहे गर्ने मनसाय छैन’ भन्दा ‘तेरो कोही छ भने भन्’ भन्थे । मनमा कोही त थियो तर उसको बिहे गर्ने मनसाय थिएन । 

चिना हेराउन जाँदा पनि ज्योतिषले तिम्रो चिनामा लगन जुरेको छ जसरी पनि अहिले बिहे गर्नुपर्छ नत्र ३५ वर्ष नकटी गर्न हुँदैन भनेका थिए । ‘ साइना दोधारमा थिई, घर परिवारलाई ‘म कसैलाई माया गर्छु’ भन्न पनि सक्दिनथी र माया गरेको व्यक्तिलाई ‘भगाएर लैजाउ’ भन्न पनि सक्दिनथी । उ भर्खर पढ्दै थियो । यो कुरा आफनो प्रेमीलाई सुनाउँदा ‘तिमी खुसी छौ भने बिहे गर भन्यो ।’ दोधारकै बिचमा अष्ट्रेलियामा पिआर भाको केटासँग उसको बिहे भयो । धुमधामसँग लगनगाँठो बाँधियो । सइना अहिले अष्ट्रेलियामा छे । ब्लक गरेको पहिलो प्रेमीलाई अनब्लक गरेकी छे र बेलाबेलामा उसको वालमा गएर नयाँ गतिविधिहरु हेर्ने गर्छे । उसले चाहीँ अहिलेसम्म बिहे गरेको छैन ।