sabita sapkota. Powered by Blogger.
तिजको लहर



नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दैआएको छ तीज । “ आफूलाई आकर्षक देखाउन पहिरिने साडी, चोली, निधारमा रातो टीका, छमछम बज्ने हातभरी चुरा । 

वर्षैपिच्छे आउने तीजले घर–आँगन, समाज अनि देशमै उमङ्ग बोकेर आउँछ । पछिल्लो समय हुनेखानेलाई गहना र नयाँ पहिरन देखाउने पर्व पनि बन्न थालेको छ तीज । हुँदा खानेलाई सधैँको चिन्ता । तीजको नाममा केही बिसङ्गति पनि भित्रँदै आएका छन् । तीजको दिन भन्दा महिनादिन पहिलेदेखि दरको नाममा देखाउने तडकभडकले हाम्रो समाजमा जरा गाड्न थालेको छ । विशेषगरी तीज पर्वलाई लक्षित गरी बनाइएका गीतमा नारीका पीडा भन्दा पनि बढी स्वच्छन्दता देख्न सकिन्छ ।

 नारी स्वतन्त्रताका कुरा केही गीतमा झुल्किएको पाइन्छ । समाज, राजनीति, सम्बन्धमा आउने उतार–चडाव यस्तै गीतहरु पनि बजारमा आएका छन् । रक, पपको शैलीमा पनि गीत बजेका छन् । छोटो पहिरन लगाउनु, जाँड, रक्सी पिउनु मात्र नारी स्वतन्त्रता हो र ? ती गीतहरुबाट यस्तै प्रश्नहरु जन्मिएका छन् । नेपाली समाजको कुना–कन्दरामा आफ्नै सासूले बुहारी माथि दमन गरिरहेका छन् । पतिले पत्नीलाई, जेठानी र देउरानीबीच मनमुटाबको द्धन्द्ध चलिरहेको देखिन्छ ।

 सासूका कारण बुहारीहरु घरबाट निस्किन सकेका छैनन् । तर हाम्रा तीजका गीतमा यस्ता विषय अझै उनिन सकेका छैनन् । सहरी भूभागका नारीहरुलाई लक्षित गरी बनाइएका गीतमा खोई ति गाउँमा नारीका पीडा ? सासूले बुहारीलाई गरेको अत्याचार ? जेठानीले देउरानीलाई दिएको दुःख ? नारीले नारीमाथी गरेको दमन र अत्याचारका दृश्य ? के अब त्यस्ता पीर–मर्का भरिएका गीतहरु सुन्न पाउँदैन ? 
अचेल गीतहरु सुन्दा लागछ अब गाउँका महिलाका दुख हराए । तर वास्तविकता त्यस्तो होइन । दुख छन् अझै पनि हाम्रा गीतमा मात्रै नअटाएका हुन् । गीत सृजना गर्नेहरुले यस्तोमा ख्याल पुर्याउनु पर्ने हो । तीजको गीतमा छमछमी नाच्नेहरुलाई भन्नुछ, गाउँमा मनाइने वास्तविक तीज अचेल सहरियाले आफूअनुकुल मनाइदिनाले तीजकै गरिमा हराएको छ । 

‘ के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ? होइन । यसको सौन्दर्य नै बिग्रेको छ । यसको मुख्य दोष आधुनिक भनिने महिलाहरुलाई जान्छ । वास्तविक तीजको गरिमा बिगार्ने काम पनि उनै आधुनिक भनिने सहरीया महिलाहरुले नै बिगारेका हुन् । तीजमा त गाउँका महिलाका पीडा, दुख गरिबी र दैनिक भोगाइ समेटिनुपथ्र्यो । 

तीजको आफ्नै महत्व छ । यस पर्व मनाउनुमा केही ऐतिहासिक कारणहरु पनि छन् । परापूर्व कालमा सानै उमेरदेखि महादेव स्वामी पाउँ भनी आरधना गरिहेकी हिमालय पर्वतकी छोरी पार्वतीलाई उनका बाबु हिमालय पर्वतले श्री महादेवसँग नभई विष्णुसँग विवाह गरिदिन लागेपछि पार्वतीले आफ्नो इच्छा अनुरुप महादेव पति नपाउने भएको थाहा पाएपछि उनले आफ्ना साथीहरु डाकी आफुलाई लुकाएर राखी दिन अनुरोध गरिन् र उनको अनुरोध अनुसार साथीहरुले पार्वतीलाई एउटा जंगलमा लगी लुकाएर आए । ‘ तत्पश्चात पार्वतीले त्यही जंगलमा बसी महादेवको नाममा शिवलिङ्ग स्थापना गराई पूजा आराधना गरिरहिन् ।

 पछि उनी सफल भइन् अर्थात् उनले महादेव पति पाइन् । यही साथीहरुद्वारा हरण गरी एकान्तमा राखेको बेला गरेको व्रत हुनाले उक्त व्रतको नाम हरितालिका रहन गयो । फलस्वरुप त्यही दिनदेखि प्रत्येक नेपाली चेलीहरुले भाद्र शुल्क द्वाद्धशीदेखि ऋषि पञ्चमीसम्म तीज पर्व भनेर हरितालिका मनाउने थाले भन्ने किम्बदन्ती पाइन्छ । हरितालिकाको अघिल्लो दिन राती चेलीहरु जम्मा भएर माइतिघरमा दर खाएपछि सुरु हुने तीजको दिन प्रायजसो चेलीहरु निराहार पानी समेत पनि नखाई व्रत बसी महादेवको मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । नाचगान गरी नारी हृदयका भावनालाई गीत संगीतबाट उजागर गर्ने गर्छन् नारीहरु । 

यसरी यो दिन व्रत बसेर विवाहित महिलाहरुले श्रीमानको गोडाको पानी खाएर ढोगेमा आयु लामो हुने विश्वास छ भने अविवाहितहरुले सुयोग्य, लगनशिल र शिवजस्तै पति पाउन भनी तीजको व्रत बस्ने गरेको पाइन्छ । यसैगरी बिहानै उठेर खोलामा गइ दतिउन खाने चलन पनि रहेको छ । 

दतिउन खाएर आएपछि ऋषि पञ्चमीको पूजा गर्नाले वर्षभरी गरेका सम्पूर्ण पापहरु नाश हुन्छन् भन्ने मान्यता पनि रहिआएको छ । आफ्नो क्षमता अनुसार तीज मनाउनु होला । तडक भडक, देखावटीपन भन्दा पनि आफ्नोपनमा बाँच्न सिक्नुहोला । हाम्रो घर–आँगनमा आएको तीजको सबैलाई शुभकामना ।