sabita sapkota. Powered by Blogger.
त्यो वालापनको दसैं


सानीले नयाँ लुगा देखाउँदै सोधी, ‘यो मेरो बाबुको लागि किनिदिएको लुगा कस्तो छ ?’ ‘राम्रो छ’को संकेतमा मुन्टो हल्लाएँ । २ वर्षको छोरो च्यापेर उ माइत आएकी छ । यस वर्ष आफ्नो घरमा ससुरा बितेर टीका लगाउन नहुने हुनाले छिटै माइत आएकी रहिछे । एक महिनाको लामो बसाई लिएर ।
‘यसले त पोहोरकै लुगा लगाएकी । यि हेर, हाम्रो त नयाँ कपडा छन् । बाबाले लाहुरबाट आउँदा ल्याइदिएको ।’ रातो फ्रक र मिलिक÷मिलिक रातो बत्ती बल्ने जुत्ता देखाउँदै म भन्थे । ‘छ्या ! छ्या ! गोबरको टाटो लागेको पुरानो कपडा !’ अर्काे साथीले थप्थी ।
भित्रबाट जुर्मुराउँदै काकी आउँथिन् । ‘तिमीहरुका पो बाउ लाउरे छन्, एउटी छोरी मात्र पाएर छोरो नजन्माई बस्याछन् । बुढेसकालमा चेत पाउँछन् । मेरी छोरीलाई केही नभनाओ है !’ बल्लबल्ल फकाएर यो लुगा लगाएकी छे ।
‘ओहो ! मेरा बा त लाहुरे रहेछन् ।’ बढो मज्जा लाग्थ्यो । आफू त निकै भाग्यमानी सम्झन्थेँ । हुन त म भाग्यमानी नै हुँ । कुनैदिन अभावको महशुस गर्न परेन । घाँस, दाउरा, मेलापात, चुलो चौका केही नगरी हुर्किएँ । सानैबाट बोर्डिङमा पढ्न पाएँ ।
जुत्तामा बत्ती बाल्नकै निम्ती वल्लो घर र पल्लो घर गथ्र्यौं । काकीले गाली गरेपछि उनको घरबाट टाप कसेम । बिचरी काकाकी छोरी सानी हाम्रो पछिपछि आउँथी । निन्याउरो मुख लगाएर भन्थी, ‘यसपालि जेठी र माहिली दिदीको नयाँ लुगा लगाउने पालो । अर्काे साल त म पनि बाबालाई यस्तै बत्ती बल्ने जुत्ता किन्दिनु भन्छु ।’ ५ वटी वर्षाेटे दिदी बहिनी थिए । बिचरा, खेती किसान गरेको भरमा काका काकीले सबैलाई नयाँ लुगा कहाँ किनिदिन सक्थे र !
‘अर्काे साल हामी अर्कै किन्छम्’ उसलाई गिजाइ हाल्थ्यौँ । सधैं दसैंमा नयाँ कपडा लगाउन पाइन्थ्यो । जाँच सकिने दिन त निकै रमाईलो लाग्थ्यो । त्यसपछि १ महिना भन्दा बढीको छुट्टी । ५ दिनमा रटिएर होमवर्क सक्थेँ । अनिपछि मस्ती हुन्थ्यो । कहिले गाउँ गएर नयाँ कपडा देखाउझैं लाग्ने । घरको आँगनमा हजुरबाले बनाइदिएको पिङ आहा ! सम्झिँदा पनि आनन्द लाग्छ । दसैं आयो त त्यही बालापनमा आयो ।
दसैंको दिन दिएको पैसा एकएक गनेर आमालाई राख्न दिन्थँ । कति पुग्यो आमा पैसा ? भनेर आमालाई नै झर्को लाग्ने गरी सोधिरहन्थेँ । मामाघरमा फुरुफुरु पर्दै जान्थेँ । झन मामा घरमा धेरै पैसा जम्मा हुन्थ्यो । मामाहरुकी एक्ली भान्जी थिएँ ।
सानीका दिदीहरुको ८ कक्षा पढ्दै बिहे भो । सानीले पनि एउटा छोरो पाईसकी । सानैदेखि दुःख भोगेका उनीहरु बिहेपछि पनि दःुखमै छन् । तिनै सन्तान हुर्काउँन, सासू, ससुराको स्याहार गर्न र श्रीमान्लाई खाना पकाउँदै ठिक्क छ । उनीहरुका बा आमाले धेरै सन्तान जन्माएर दसैंमा नयाँ लुगा किनिदिन नसके पनि सानीले भने आफ्नो छोरालाई नयाँ कपडा किनिदिएको देख्दा खुशी लाग्यो ।
सानीको छोराको नयाँ कपडा हेर्ने दौडानमा म त विगतमा पुगेछु । सानीलाई पनि ती यादहरु सुनाएँ । मज्जाले हाँसी । अनि भनी, ‘हो साँच्चै बालापन नै रमाइलो । तल्ला घरे काकाको घरमा लिचि चोर्न जाँदा लौरी लिएर खेदाएको सम्झि । म पनि मज्जाले हासेँ । यसरी आउँदै गरेको दशैँको याद बालापनले दिलायो । मलाई भने अझै पनि दसैं आएको जस्तो लागेको छैन । के साँचै ! दसैं आएकै हो त ?
थाहा छ ! अब त्यो बालापनको दसैँ कहिल्यै आउने छैन । तर पनि कहिलेकाहीँ आमासँग जिस्किएर बच्चा बन्न मन लाग्छ । साथीहरुलाई भेट्दा बच्चापन देखाउन मन लाग्छ । सधैँ बच्चै भएर जिउँन मन लाग्छ । दसैंलाई सधैं बच्चा नै भएर मनाउन मन लाग्छ र नयाँ लुगा किन्न मन लाग्छ । घरमा सेल रोटी पाक्छ, खसी ढालिन्छ । सबैजना भेला हुन्छन् । यस्तै यस्तै कुराले मनमा हर्षको फूलहरु फुलाउँछ । सबैलाई दसैंको शुभकामना ।