sabita sapkota. Powered by Blogger.
गोरेसँग एकतर्फी प्रेम




कलेज ६ बजेदेखि सुरु भएपनि ४ः३० मै उठेर कलेज जाने तर्खर गर्नुपथ्र्यो । ढिला उठेको दिन कहिले एउटा आँखामा मात्र गाजल लगाउन भ्याउथेँ । कहिले लिपिष्टिक लगाउनै बिर्सन्थेँ, कहिले कपाल बाँध्ने लेबेन्टी नभेटेर हैरान हुन्थ्यो । घरदेखि कलेज टाढा भएको र एउटा बस छुटेपछि अर्काे नपाउने हुनाले सधै‍ हतार हुन्थ्यो ।

काठमाडौँमा जस्तो छिनछिनमा बस पाइँदैन पोखरामा । एउटा स्टेसनमा बस नरोकी घरैपिच्छे रोक्ने हुनाले आधा घण्टाको बाटो पनि एक घण्टा लगाइदिन्छ । एउटा फाइदा छ, यहाँ काठमाडौँ जस्तो जाम भने हँुदैन ।

बिच बाटोबाट चढ्ने हुनाले बसमा सिट कहिल्यै पाइदैनथ्यो, काठमाडौंमा जस्तै ।

उ सधै सिटमा हुन्थ्यो । उ भएतिरै नजरहरु डुलाउँदै हुन्थेँ । भर्खर सुरु भएको कलेज लाइफ । कहिले बिहान होला र बस चढ्न पाउँला भन्ने लाग्थ्यो । उसलाई हेरेपछि छुट्टै आनन्द भेट्थेँ । प्यासीहरुले आफ्नो प्यास मेटाएजस्तै, महिनौँ दिन खाना खान नपाएर भेट्दाको खानाजस्तै । बसमा धेरै युवकहरु हुन्थे तर पनि उ केही विशेष लाग्थ्यो । उसकै काखमा बसौँजस्तै । कहिलेकाहीँ उसको साइडमा कोही केटी बसे भने मनमा जलन हुन्थ्यो । आफू पनि बस्न पाए भन्ने लाग्थ्यो । म उसलाई सधैँ हेर्दथेँ । तर उसले मतिर हेरेको कहिल्यै देखिनँ ।

म काली थिएँ, उ गोरो । मेरो मुखमा डन्डीफोरका दागहरु थिए । उसको मुख दुधले धोएजस्तो सफा, सेतो अनि मुलायम । मेरो कपाल गुन्द्रुके थियो, उसको सिधा स्ट्रेट । म कुर्ता सुरवाल लगाउँथे, सायद मिनी स्कट लाउनेतिर उ नजर डोर्याउँथ्यो ।

पढ्ने कलेज एउटै थिएन । सायद लेभल पनि फरक थियो । म धेरै बोलिरहने, हाँसिरहने चुलबुले खालकी थिएँ । उ मौन खालको अनुशासित देखिन्थ्यो । केबल एउटै थियो बिहान कलेज जाँदा चड्ने बस ।

सधैँ उसलाई हेरेर चित्त बुझाउँथे । उ को हो ? कहाँ बस्छ ? कतिमा पढ्दै छ ? केही कुरा थाहा थिएन । तर पनि उ मेरो आँखामा बसेको थियो । उसँगै सिटमा बस्ने मौका मैले कहिल्यै पाइनँ । २ वर्षभर उसलाई टाढैबाट हेरिरहेँ । बोलाउन पनि सकिन । खै त्यो माया थियो या आकर्षण ? अहिले सम्झँदा मनमनै हाँसोका छालहरु छुट्छन् । उसको मुहार फेसबुकमा हेर्दै एक्लै हाँस्छु । कुनैदिन मेरा नयनहरु उसलाई खोज्थे । उसलाई हेर्दामात्रै आनन्द भेट्थेँ । तर म कायर थिएँ, भन्न डराउँथे ।

आज उ विदेशी भूमिमा पैसा कमाउन गएको छ । खै कताबाट फेसबुकले उसँग सम्बन्ध जोडिदियो । अनि चिनेँ, उ को रहेछ । त्यतिबेला कुन लेभल पढ्दै रहेछ । अनि काली केटीलाई याद पनि गर्दाेरहेछ । तर उसकी गलफ्रेन्ड भएकोले अन्यतिर आँखा नलगाउने रहेछ । या भनौँ उ एउटा सच्चा प्रेमी रहेछ ।

केही महिनायता उसँग लगातार म्यासेन्जर र भाइबरमा कुरा हुन्छ । उ राम्रो भएकोले आउने प्रेम प्रस्तावकोबारे सुनाउँछ ।

हाँसी मजाकमै मैले पनि प्रेम प्रताव राखिदिन्छु । उतिबेला भन्न नसकेको प्रस्ताव । उ केबल इमोको साइनहरुले मेरो प्रस्ताव टार्न खोज्छ । १२ कक्षा पास गरेपछि उ विदेश गएछ । डिग्री पढ्नेसँग माया प्रेम जोड्दिन भन्छ । म तिमीलाई पनि पढाउँछु नि भन्छु । पढ्ने उमेर विदेशमा दासी हुँदै वितेका दुखद दिनहरु सुनाउँछ । मैले ठट्टा गरेकी भन्दै टारिदिन्छु । तर पनि असल साथी भने बनाउँछु भन्छ ।

अब उसैको मुखबाट सुनौं,उसको प्रेमकथा ।

सानैदेखि गोरो भएकोले सबैले गोरे भन्थेँ । स्कुल पढ्दा पनि धेरै शिक्षकहरुले कति राम्रो चकलेटी भन्दै काखमा लिन्थेँ । अरुले राम्रो भनिदिँदा खुशी लाग्थ्यो । समयसँग बढ्दै गएँ, पढ्दै गएँ । आठ कक्षा पढ्दा कक्षामा सधैँ प्रथम हुने सुशीलासँग प्रेम भयो । लभ लेटर आदानप्रदान हुन थाले । त्यतिबेला मिग चलाउने ट्रेन्ड थियो । हामी त्यसमै गफ गर्दथ्यौं ।

म पढ्नमा त्यति जान्ने थिइनँ । बल्ल बल्ल पास हुन्थँे । उनी मलाई गणितका हिसाबहरु सिकाउँथिन् । म आज्ञाकारी बनेर सिक्थँे । ब्रेकमा सबै साथीहरु हामी दुईलाई मात्र क्लासमा छोडिदिन्थे । रमाईलो मान्दै हामी गफिन्थ्यौ । भविष्यका कहानीहरु बुन्थ्याैँ । सपनाहरु सजाउँथ्यौ । काखमा सुत्ने, चुम्बन गर्ने कहिल्यै भएन । त्यो बेलाको अनौठो खालको प्रेम थियो । उनले सिकाउँदा कहिलेकाहीँ हात ठोकिँदा पनि करेन्ट लागेझैँ हुन्थ्यो ।

उनकी आमा हाम्रै विद्यालयमा शिक्षिका थिइन् । कुरा एक कान दुई कान हुँदै स्कुलभर फैलियो । सानासाना भाइबहिनीहरु यो दाइको त्यो दिदीसँग लभ परेको छ रे भनेर कानेखुशी गर्न थाले । शिक्षकहरु पढाउँदा हामीतिरै सटाएर हान्थे ।

९ कक्षा पढ्दा हेडसरले हामी दुईलाई अफिसमा बोलाएर सम्झाउनु भयो । यो समय रामोसँग पढ्ने भएकोले अन्त मन नडुलाउन आग्रह गर्नुभयो । उनकी आमाले पनि एकदिन नमज्जासँग हकारिन् । मानांै मैले ठूलै गल्ती गरेजस्तै । जबरजस्ती उनकी छोरीलाई आफ्नो वसमा पारेजस्तै ।

आमाले दिनहुँ गाली गरेको खबर उनले सुनाउँथिन् । १० कक्षा पुगेपछि विनाकारण उनीसँग बोलचाल बन्द भयो ।

कक्षाकै अर्काे केटीसँग म फेरि प्रेममा बाधिएँ । उसलाई देखाउनकै निम्ति भएपनि मायाको नाटक गरेँ । १० कक्षामा होस्टल बस्दा निकै रमाईलो भयो । उनी थोरै खान्थिन् र आफ्नो भाग खाजा पनि मलाई नै दिन्थिन् । लुकीलुकी गफगाफ र भेटघाट हुन्थ्यो ।

एसएलसीमा उनी प्रथम श्रेणीमा पास भइन् र म दोस्रो श्रेणीमा । हामी एउटै कलेजमा भर्ना भयाैँ । कलेजमा आएपछि केही स्वतन्त्र भइयो । सँगै घुम्न गईयो । धेरै समयसँगै बिताइयो । उनी मेरी पहिलो प्रेमिका थिइन् । जोसँग मैले पहिलो पटक हात समातेँ । कलिलो ओठमा चुम्बन गरेँ । अँगालोमा बेरेँ । मलाई बाले जति जिद्दी गरेपनि बाईक किनिदिएनन् । घरमा समस्या नै थियो । म पछि साना २ बहिनी र १ भाइ पढ्दै थिएँ ।

१२ कक्षा पढ्दादेखि काम गर्न थालेँ । दिउँसो म कपडा पसलमा जागिर गर्थाे र बिहानमा पढ्थेँ । उनी अलि सम्पन्न परिवारकी थिइन् । अलि स्टाईलिष्ट, नयाँ नयाँ फेसन गर्नुपर्ने खालकी । जागिर र पढाई दुवै गर्ने भएकोले मैले उनलाई समय दिन सकिनँ । एउटै कलेज भएपनि कहिलेकाहीँ मात्र भेट हुन थाल्यो । १२ कक्षाको अन्तिम दिनमा आएर थाहा भयो । उनको अर्कै केटासँग प्रेम बसेको कुरा । त्यसपछि रिजल्ट नआउँदै पासपोर्ट बनाएर म विदेश आएँ । आजकल माया प्रेममा खासै विश्वास लाग्दैन र मन पनि जाँदैन ।

तपाईंलाई कस्तो लाग्यो उसको प्रेम कथा । म त मौन बसेर सुनिरहेँ । केही प्रतिक्रिया दिनै सकिनँ । आफूले मन पराएको मान्छेको प्रेम कहानी सुन्दा खै किन म मौन रहे ? के सबै एकतर्फी प्रेम गर्नेहरुलाई आफूले मन पराएको मान्छेको प्रेम कथा सुन्दा यस्तै हुन्छ ?